काठमाडौं। म्यूजिक भिडियो सम्पादन र निर्देशनमा व्यस्त रहेका निर्देशक जीवन सेञ्चुरी ले कुनै दिन एक चलचित्र बनाउने सपना देखेका थिए। आज, उनको त्यो सपना ‘जुनाः एक व्यथा’ फिल्मले पूरा गरेको छ। यो फिल्म यही शुक्रवार देखि रिलिज हुँदैछ।
फिल्मसँग जीवनको जोडिनु एउटा बेग्लै कथा हो। जीवन काठमाडौंको गोङ्गबु स्थित अफिसमा बसिरहेको बेला लेखक राजबहादुर सानेसँग भेट भएको थियो। उनले त्यतिबेला आफूले चाहेका पात्र र कथा सुनाएर सानो बजेटमा फिल्म बनाउने योजना सुनाए। जीवन भन्छन्, “मैले उहाँलाई कथाको एक लाइन सुनाएर, यो क्यारेक्टर राख्छु भनेको थिएँ। सानो बजेटमा फिल्म बनाउने भनेपछि उहाँले कथालाई रिफाइन गरिदिनुभयो।”
राजबहादुर साने बाट स्क्रिप्ट लिएपछि, उनले ४२ मिनेटको सर्ट फिल्म बनाए। ७ लाख रुपैंयाँ लगानी गरेर बनाएको सर्ट फिल्मलाई सम्पादन गरेर हेरेपछि, उनले सर्ट फिल्मको सट्टा ठूलो फिल्म बनाउने निर्णय गरे। “फिल्म हेरिसकेपछि कथाले न्याय पाएन भन्ने भयो। फिल्म हेरिरहँदा म रोएँ पनि,” उनले भने।
फिल्म बनाउनको लागि जीवन र सानेले तीन वर्षको समयावधिमा ‘जुनाः एक व्यथा’ को स्क्रिप्टको पुनर्लेखन गरे। स्क्रिप्ट पूरा भएपछि, उनले फिल्मका लागि ३२ लोकेसन हेरे। लोकेसन खोज्न काठमाडौं देखि मनाङ र मुस्ताङसम्म पुगे। “लोकेसन पाएर मात्र हुँदैन। त्यहाँका स्थानीयहरूको सहयोग र स्थानीय कथासँग म्याच हुनु पर्छ। त्यसपछि मैले पर्वतको लोकेसन छनोट गरें,” जीवन भन्छन्।
स्क्रिप्ट फाइनल भएपछि, उनको भेट निर्माता दीपकप्रसाद घिमिरे सँग भएको हो। जीवनका अनुसार, उनले दीपकलाई भने, “बाँच्छु भने, यो फिल्मबाट, मर्छु भने, यो फिल्मबाट” भन्ने कुरा गर्दा दीपक फिल्ममा पैसा लगाउन तयार भए।
जीवनलाई फिल्मका मुख्य कलाकार खोज्न निकै कठिनाई भएको थियो। “मैले प्रमुख पात्रका लागि झण्डै ७५ जना बालिकालाई भेटें। उनीहरूलाई मेरो कार्यालयमा बोलाएर, केही अभिनय देखाउन भनें। धेरैले फिल्मको क्लाइमेक्स सुनेपछि डराए। हामीले भनेका थिए, डराउनु पर्दैन, केही हुँदैन। तर धेरैले मानेनन्,” जीवन सम्झन्छन्।
जीवनका अनुसार, फिल्मका मुख्य पात्रका लागि ‘हल्का डार्क’ र ‘इनोसन्ट’ अनुहार चाहिएको थियो। यस्तै अनुहार भएकी अस्मिता ढकाल लाई जीवनले फेसबुकमा भेटे। “अस्मितालाई फिल्ममा अभिनय गर्न अत्यधिक रुचि थियो। तर उहाँकी आमा भने छोरीलाई फिल्ममा काम गर्न दिन चाहँदैनथिन्। पछि सम्झाइ बुझाइ गरेर उहाँ छोरीलाई फिल्ममा अभिनय गराउन तयार हुनुभयो। हामीले उहाँको घर नजिकैको कल्चर सेन्टर भाडामा लिएर १३ महिनासम्म अभिनय सिकायौं। अस्मिता त्यो बेला ११ वर्षकी मात्र थिइन्,” जीवन भन्छन्।
जीवन ‘जुनाः एक व्यथा’ लाई मोटिभेसनल फिल्म मान्छन्। “हामीले पछाडि फर्केर हेर्यौं भने, हामीले बाँचेको जिन्दगी र हाम्रा बाबुआमाले बाँचेको जिन्दगीको अन्तराल कति फरक छ। यही कुरा फिल्ममा छ। हिजो आमाबाबुले छोराछोरीलाई ‘विवाह गर’ भनेर दबाब दिन्थे। अहिले बाबुआमाले ‘नगर’ भनेर भन्छन्। हिजो छोराछोरी रुन्थे, आज बाबुआमा। यो फिल्म हेरेपछि बाबुआमाले सोच्नछन् कि ‘मैले छोराछोरीलाई गल्ती गरेँ, यसो गर्नु हुँदैन।’ छोराछोरी भने बाबुआमाको क्रियाकलापलाई सम्झन्छन्,” फिल्मबारे जीवन भन्छन्।
जीवनका अनुसार, सुटिङमा अस्मिताले कहिल्यै आँखामा ग्लिसिरिन लगाइनन्। “फिल्ममा बिहानदेखि बेलुकासम्म अस्मिता रोइरहनु पथ्र्यो। कोही पनि कलाकारलाई ग्लिसिरिन लगाएनौं। सबैले प्राकृतिक तरिकामा अभिनय गर्नुभयो,” उनी सम्झन्छन्। ४० वर्ष अघिको समयलाई फिल्ममा म्याचिङ गर्न गाह्रो परेको अनुभव पनि उनले सुनाए।
दीपकप्रसाद घिमिरे को निर्माण र जीवन सेन्चुरी को निर्देशनमा बनेको ‘जुनाः एक व्यथा’ फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपाने को अभिनय छ।
तस्वीर: सुरेन्द्र थापा