फागुनको २ गतेबाट रिलिजमा आउने फिल्म ‘दुःखी आत्मा’ को टिजर, ब्रेकअप कविता र ट्रेलरको चर्चा उच्च छ। फिल्मको प्रचार सामग्री हेरेपछि यसलाई लिएर मानिसहरूको आ–आफ्नै तर्क सुनिन थालिएको छ।
कतिपयले नायक दया हाङ राइलाई यस्तो कथामा फिल्म किन खेलेको भन्ने प्रश्न पनि गरेका छन् भने कतिपयले दया हाङलाई फरक कथामा फिल्म खेलेको भन्दै सराहना गरेका छन्। विभिन्न कोणबाट यो फिल्मको ट्रेलरलाई लिएर प्रतिक्रिया आएका छन्।
दया भन्छन्– ‘मानसिक स्वास्थ्यको विषयमा हामी बल्ल बल्ल खुल्न थालेका छौं। हाम्रो परिवारका सदस्यहरूले स्वास्थ्यसम्बन्धी कुरा गर्न थालेका छन्। यौन भनेको हाम्रो व्यक्तिगत कुरा हो, जसलाई हामी गोप्य राख्छौं। तर, यो चासोको विषय हो। भारतमा पनि ४० वर्ष अगाडि मात्र फिल्ममा यस्ता कथाहरू उठान गर्न थालिएको हो। यो विषयमा मानिसहरूलाई जानकारी हुनुपर्छ भन्ने मलाई लाग्छ। त्यस विषयमा छलफल कोसँग गर्ने भन्ने कुरा व्यक्तिगत हुन सक्छ।’
दयाले यो फिल्ममा काम गर्दा आफूलाई कुनै अप्ठ्यारो वा गाह्रो महसुस नभएको बताउँदै अगाडि भन्छन् – ‘साथीहरूले सोध्छन्, यस्तो फिल्म किन खेलेको भनेर। तर मलाई त कस्तो पनि लागेन। एक कलाकारले आफ्नो सोचअनुसार फिल्म छनोट गर्छ, र त्यो व्यक्तिगत कुरा हो। मेरो फिल्म पहिले स–परिवार हेर्न जानुहुन्थ्यो, तर यसपटक अलि फरक तवरले जानु पर्ने हुन्छ। यसो गर्दा सहजता महसुस हुन्छ।’
दयाले भने, ‘हामीलाई सुन्दर समाज बनाउनका लागि स्वस्थ समाज चाहिन्छ। त्यसैले, यो कथा भन्नुपर्छ भन्ने लागेर मैले यो फिल्म गरेको हुँ।’ उनले फिल्मको टिजर आउँदा केहि असहमतिहरू पनि व्यक्त गरे र भने, ‘यो फिल्मले उठाएको विषय त्यति मात्र होइन, टिजरमा देखाइएका संवाद पूर्ण छन्। यसै कारणले यसको कथावस्तु बुझ्न आवश्यक छ।’
अहिले फिल्मको विषयवस्तुलाई लिएर आउने प्रश्नहरूमा दया भन्छन् कि काम गर्नु अघि विभिन्न कोणबाट सोच्नुपर्ने कुरा महसुस भएको छ।
दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार भएको यस फिल्ममा दया हाङ राइ, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ। फागुनको २ गतेबाट यो फिल्म हलमा रिलिज हुँदैछ।