प्रिमीयरमा ‘सारंग’ को तारिफ

0 Shares

निर्देशक प्रशान्त तामाङ को फिल्म ‘सारंग’ ले जताततै तारिफ पाएको छ।

यही माघ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको मंगलबार क्युएफएक्स, सिभिल मलमा प्रिमीयर गरिएको थियो। प्रिमीयरमा फिल्म हेरेका कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिले ‘सारंग’ मन परेको प्रतिक्रिया दिए।

अभिनेत्री, निर्देशक दीपाश्री निरौलाले ‘सारंग’ को खुलेर तारिफ गरिन्। विवाहित, अविवाहित सबैका लागि यो फिल्म खास रहेको बताउँदै सबैले हेर्नुपर्ने धारणा राखिन्। फिल्ममा मनोरञ्जनका साथ प्रचुर सन्देशसमेत रहेकाले आम दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन्। उनले ऋचा, उत्पल, बालकलाकार द्वय आदित्य कार्की र सम्राट थापाको अभिनय उत्कृष्ट लागेको बताइन्। वास्तविक घटनामा आधारित फिल्म निर्माण गर्नु निकै आँटिलो काम भएको र यसका लागि निर्माता, निर्देशकलाई सम्मान गर्नुपर्ने धारणा राखिन्।

निर्देशक प्रदीप भट्टराईले ‘सारंग’ हेरेर आफू, श्रीमती र छोरा पनि धेरै ठाउँमा रोएको बताए। उनले यस प्रकारको सुन्दर फिल्म अझै निर्माण गर्नुपर्नेमा जोड दिए। निर्माता अर्जुनकुमारले ‘सारंग’ हाल चलिरहेका फिल्महरू भन्दा अलि फरक विषयवस्तुको फिल्म भएको तथा परिवार र समाजलाई सौहाद्र्धतामा बाँधिराख्नका लागि यस प्रकारका फिल्महरूले ठूलो भूमिका खेल्ने राय राखे। उनले फिल्मका थुप्रै दृश्यले मन छोएको बताए।

अभिनेत्री प्रियंका कार्कीले रियालिटी बेसमा बनेको ‘सारंग’ ले आम दर्शकको मन छुने बताइन्। उनले घर, परिवारमा घटिरहेका घटनाहरूलाई लिएर सुन्दर फिल्म बनाइएको प्रतिक्रिया दिइन्। अभिनेता देब्यदेव र अभिनेता, निर्देशक सुलक्षण भारतीले पनि ‘सारंग’ वास्तवमा आम दर्शकमाझ पुर्याउनै पर्ने कथामा निर्माण गरिएको उल्लेख गर्दै तारिफ गरे। उनीहरूले फिल्म हेरेर आफूहरू धेरै ठाउँमा रोएको बताए।

अभिनेत्री तथा यस चलचित्रमा कार्यकारी निर्मात्रीका रूपमा समेत रहेकी ऋचा शर्मा ले ‘सारंग’ आफ्नो करिअरको दोस्रो इनिङ भएको बताइन्। प्रिमीयरमा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै उनले भनिन्, “केही वर्षको अन्तरालपछि म यही फिल्मबाट पर्दामा आउँदैछु। र, फिल्म पनि निकै राम्रो बनेको छ। यसअघिका विभिन्न विशेष शोहरूमा निकै राम्रो प्रतिक्रिया पाएका छौं। त्यसकारण म निकै आशावादी छु। मलाई लाग्छ यो मेरो दोस्रो इनिङ हो।”

निर्देशक, लेखन तथा निर्माता प्रशान्त तामाङले आफू सामाजिक तथा पारिवारिक सद्भावको पक्षमा रहेकाले परिवार, आफन्त, मित्र तथा समाज मिलनको विषयमा फिल्म बनाउन मन पराउने उल्लेख गरे। यसअघि पनि बाल मनोविज्ञानमा ‘ठूलो मान्छे’ नामक फिल्म निर्माण गरेका प्रशान्तले ‘सारंग’ टुक्रिन लागेको परिवारमा दुई बालकको आत्मीयताले गर्ने जादुमय संयोगान्तको कथा प्रस्तुत गरेका छन्।

प्रदर्शनपूर्व लविम मल, धरान, इटहरीलगायतका स्थानमा गरिएको विशेष प्रदर्शनीबाट निकै तारिफ पाएको ‘सारंग’ हेर्ने आम दर्शकहरू हलमा भक्कानीने, रुने गरेको पाइन्छ। अधिकांश दर्शकहरूले फिल्मले मन छोएको, वास्तविक लागेको तथा आफ्नो घरपरिवारमा पनि यस प्रकारका समस्याको अनुभूति गरिरहेकाले एकाएक आँशु झर्ने गरेको प्रतिक्रिया दिइरहेका छन्। ‘सारंग’ मा विशेषगरी शहरिया जीवन, बाबुआमाबीचको मतभेद, धनी-गरिबबीचको खड्ल र भौतिक सुख खोज्ने नाममा हुने गरेको पारिवारिक विखण्डनको वास्तविक चित्र प्रस्तुत गरिएको छ।

फिल्ममा ऋचाका साथमा उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ अनि बालकलाकार द्वय आदित्य कार्की र सम्राट थापाले अभिनय गरेका छन्। दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन्। पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेका फिल्मका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको छ। गोपाल रायले खिचेको फिल्म मित्र डि गुरुङले सम्पादन गरेका हुन्। फिल्म देशभरका हलमा स्टेशन ५ ले प्रदर्शन गर्दैछ।

सम्बन्धित समाचार

सबै