
माघ २५ गते, भोली शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘ममी’को रेडकार्पेट प्रिमियर शोको आयोजना गरिएको छ। बुधबार साँझ क्यूएफएक्सको सिभिल हलमा अभिनेत्रीद्धय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर सिनेमा ‘ममी’को प्रिमियर गरिएको हो।
सिनेमाको प्रिमियर शोमा प्रियंका र दीयासहित फिल्मका ‘कास्ट एन्ड क्रिउ’का सदस्यहरूको सहभागिता रहेको थियो। यस्तै, सिनेमा हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाला, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानसम्म पुगेका थिए।
फ्यामिली हरर जनरामा निर्माण भएको यो सिनेमा टिजर र ट्रेलर रिलिजदेखि नै चर्चामा छ। सिनेमाको प्रिमियर समारोहमा आकाशे नीलो पोशाकमा रगत लतपतिएको पहिरन किशोरीहरूले प्रस्तुत गरेका थिए। अभिनेत्री मास्के पोतेसहित सेतो कालो पहिरनमा प्रस्तुत थिइन्। प्रियंका भने कालो स्लिभलेस पहिरनमा उपस्थित थिइन्। प्रियंकासँगै उनकी आमा पनि प्रिमियर शोमा उपस्थित थिइन्।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले प्रिमियर शोपछि मिडियासँग प्रतिक्रिया दिँदै विषयवस्तु अनुसार उत्कृष्ट सिनेमा बनेको बताइन्। धेरैपछि नेपालमा एउटा उत्कृष्ट फ्यामिली हरर सिनेमा हेर्न पाएकाले सन्तुष्टि मिलेको भन्दै सबै दर्शकलाई ढुक्क भएर टिकट काटेर सिनेमा हेर्न अनुरोध गरिन्। यता, अभिनेत्री केकी अधिकारीले पनि सिनेमा राम्रो बनेको भन्दै समर निरौलाजस्ता नयाँ निर्माता तथा निर्देशकलाई नेपाली सिनेमा क्षेत्रमा स्वागत गर्नुपर्ने बताइन्।
अभिनेता सलोन बस्नेतले पनि सिनेमा राम्रो बनेको भन्दै सबैलाई सिनेमा हेर्न आग्रह गरे। उनीसँगै प्रिमियरमा सहभागी अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठले पनि ‘ममी’ले तर्साउन र समाजमा घट्ने यस्ता घटनाको बारेमा सजग हुने सचेत गराएको बताइन्। यता, अर्का अभिनेता सलिनमान बनियाँले पनि सिनेमाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए। आफूले नेपालमा उत्कृष्ट हरर सिनेमा हेर्न पाएको भन्दै खुशी व्यक्त गरे।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ। समर डेब्यू निर्देशक हुन्। सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन्।
सिनेमाको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका छन् भने सम्पादन सुरेन महर्जनको रहेको छ। यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्वन्द्व निर्देशन, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन्।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्दैछन्।