बहुप्रतिक्षित सिक्वल ‘फेरि रेशम फिलिलि’ले टिजर सार्वजनिक गरेको छ ।
बिहीबार साँझ सार्वजनिक भएको १ मिनेट ४१ सेकेण्ड अवधिको टिजरले दर्शकलाई पुर्ण मनोरञ्जनको प्याकेज पस्किने देखाएको छ ।सार्वजनिक टिजरमा यो सिक्वलमा पनि हरिया(कामेश्वर चौरसिया)ले दर्शकलाई पुरानै कमेडीको तड्का दिने निश्चित गरेको छ ।
१० वर्षपछि फेरि एकिकृत भएका रेशम र हरियाको टिमअपले दर्शकलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गर्न सकिन्छ । टिजरमा अमेरिका जाने तयारीमा रहेका रेशम र सँधै समस्या सृजना गर्ने हरिया र जसरी पनि अमेरिका जाने ताकमा रहेकी सुपुष्पाको लक्ष्यको सेरोफेरोमा सिनेमाको कथा घुम्ने देखाइएको छ ।
रेशमकी आमा (लक्ष्मी गिरी) समेतको प्रभावशाली उपस्थिति सिनेमामा हुने टिजरले संकेत गर्दछ । यस्तै नीर शाहले सिनेमाको परिस्थितजन्य कमेडीका लागि क्याटालिस्ट बन्ने टिजरले देखाउँछ ।
यस हिसाबले कमेडीमा नयाँ शैलीको विरासत सुरु गरेको ‘रेशम फिलिलि’ सिनेमाको सिलसिला यो सिनेमाले पनि फागुन १४ गते महाशिवरात्रीका दिनमा प्रस्तुत गर्ने आशा गर्न सकिन्छ ।
आज सार्वजनिक भएको टिजरले ट्रेलर झन प्रतिक्षित बनाउने काम गरेको छ ।
सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सिनेमामा विनय, सुपुष्प, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । यो सिनेमा फागुन १४ मा रिलिज हुँदै छ ।