चैत ८ गते प्रदर्शनको तयारीमा रहेको ‘द्रौपदी’ फिल्मको “कर्णाली काटौला” बोलको गीत सार्वजनिक गरिएको छ।
वान सिनेमा, नयाँ बानेश्वरमा बिहीवार प्रेस मिटिङ गरेर रवी ओड र इन्द्रकला राईले गाएको सो गीत दर्शकमाझ ल्याइएको हो।
निर्देशक ऋषिराज आचार्यका शब्द र रवी ओडको संगीत रहेको यस गीतमा डेब्यू अभिनेत्री आश्वीनी शाही, निर्देशक ऋषिराज आचार्य स्वयम्, गायक रवी ओड र सुजाता तिमिल्सिना प्रेमील भावमा प्रस्तुत भएका छन्।
डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी विष्णु ठडराईले गरेका छन्।
निर्माणको प्रारम्भदेखि नै चर्चामा रहेको फिल्मको प्रेस मिटिङमा निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक विषयमा फिल्म निर्माण गरेको बताए। उनले कथाको मागअनुसार नै फिल्ममा नव कलाकारहरूको बर्चस्व रहन गएको जानकारी दिए। अन्तर्राष्ट्रिय बजारलाई समेत दृष्टिगत गरिएको फिल्मको गीतमा कर्णालीको सौन्दर्यता झल्किएको छ।
डेब्यू अभिनेत्री आश्वीनी शाहीले ‘द्रौपदी’बाट आफू निकै आशावादी रहेको बताइन। करिब ४ सय जना आवेदकहरू मध्यबाट ‘द्रौपदी’को भूमिकाका लागि छनोट भएकी आश्वीनीले निकै मिहिनेतका साथ अभिनय गरेको स्मरण गरिन्।
फिल्मको छायांकन डोल्पामा करिब डेढ महिनासम्म गरिएको थियो। कार्यक्रमका दौरान गायक-गायिका रवी ओड र इन्द्रकला राईले गीत गाउँदा माहौल प्रेमील बनेको थियो। यही फिल्मबाट ठूलो पर्दामा अभिनयमा डेब्यू गरेका गायक रवी ओडले आफूले पाएको चरित्र र भूमिकामा न्याय गर्ने कोसिस गरेको बताए। उनले भने, “मलाई मन परेको र गर्न सक्छु भन्ने लागेपछि मैले अभिनय गरेको हो, यदि मैले सुहाउँदो भूमिका पाए भने अभिनयलाई निरन्तरता दिनेछु।”
निर्माता तथा अभिनेता प्रकाश ज्ञावलीले फिल्मले मौलिक नेपाली कथा बोकेको बताउँदै यसप्रकारका विषय प्रचुरताका साथ पर्दामा उतारिनु पर्नेमा जोड दिए।
त्यसैगरी, अर्का अभिनेता कबिराम भामले पनि मौलिक फिल्म निर्माणमा जोड दिनुपर्ने राय राखे। अ
र्की डेब्यू अभिनेत्री सुजाता तिमिल्सिनाले सुटिङका क्रममा आफू दुर्घटनामा परेको स्मरण गर्दै बिकट भौगोलिक अवस्थाका कारण निकै कष्टपूर्ण सुटिङ गर्नुपरेको बताइन।
‘द्रौपदी’बाट पर्दाको यात्रा सुरु गरेकी पहिलो संविधान सभाकी सदस्य सीता बौडेलले राजनीति र अभिनय बिल्कुल फरक क्षेत्र भएको अनुभव सुनाउँदै दुवैमा आ-आफ्नै प्रकारको लगाव र मिहिनेत चाहिने धारणा राखिन। उनले भनिन्, “‘द्रौपदी’ जस्ता मौलिक फिल्म निर्माणमा स्रष्टाहरूले चासो दिनुपर्छ।”
०८ चैतबाट देशव्यापी प्रदर्शनमा आउने फिल्ममा आश्वीनी शाही, रवी ओड, कबिराज, जेल्सन अधिकारी, सुजाता तिमिल्सिना, विष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भूमिकामा छन्। निर्देशक ऋषिराजकै लेखन, गीत र निर्माण रहेको फिल्मको सम्पादन अनिल महर्जनले गरेका छन्। सौरभ शर्माको पार्श्व संगीत रहेको फिल्मको छायांकन मोहनकुमार झिल्लुले गरेका छन्।
आर बी मुभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र विष्णु ठडराई छन्। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफ डी कम्पनी र रिच इन्टरटेन्मेन्टले संयुक्त रूपमा वितरण गर्दैछन्।