
मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाडौँ, बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले जित्न सफल भएकी छिन्।
शनिवार अपराह्न राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा उनले ताजको साथ साथै “नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२५, टोकियो, जापान” को लागि इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन्। प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिदै उनले शीर्ष उपाधी जित्न सफल भएकी थिइन्।
हिमालयन मुभिज प्रोडक्सन हाउस द्वारा आयोजित उक्त कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी र सेकेन्ड रनर अप रेखा भट्टराइ भएका थिए।
करीब दर्जनौं प्रतियोगीहरूको एक महिने सम्पूर्ण प्रशिक्षणको जिम्मेवारी चर्चित अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाले वहन गरेकी थिइन्। प्रतियोगीहरूले व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुतिकरण, क्याटवाक, प्रस्तुतिकरण र बौद्धिक क्षमता विकासका साथै अन्य थुप्रै विषयहरूमा प्रशिक्षण लिएका थिए।
कार्यक्रमको प्रारम्भिक चरणमा आकर्षक नृत्य प्रस्तुत गरेर प्रतियोगीहरूले कार्यक्रमको आरम्भ गरेका थिए। त्यसपछि परिचयात्मक चरण, पोशाक प्रदर्शन, टप सेभेन, टप फाइभ र प्रोनोत्तर चरण पार गर्दै क्राउनिङ चरणमा समापन भएको थियो। मध्यकालमा कोरियोग्राफर हिमानी सुब्बा आफैं विशेष राउण्डमा स्टेजमा उत्रिएकी थिइन्।
कार्यक्रममा विभिन्न सब-टाइटल अवार्डहरू समेत वितरण गरिएको थियो।
यसमा शन्ध्या लामिछानेले मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराईले मोस्ट पपुलर र पब्लिक च्वाइस, सर्वण जोशीले मोस्ट एट्राक्टिभ, कल्पना बि.क.ले मोस्ट स्मार्ट, प्रिती खड्काले बेस्ट फोटोजेनिक, आकांक्षा गजमेरले बेस्ट क्याटवाक, शर्मीला थापाले मोस्ट डिलिजेन्ट, निर्मला चौधरीले मोस्ट चार्मिङ, सीमा ढुंगानाले मोस्ट प्यासोनेट र पेसल कुमारी खड्काले मोस्ट कन्फिडेन्ट अवार्ड जित्न सफल भएका थिए।
कार्यक्रमको निर्णायक मण्डलमा नायक र चलचित्रकर्मी रमेश उप्रेती, नायक र मोडल मनिष राउत, मिस नेपाल आइडल २०१९ र भि.जे. निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे रहेका थिए।
कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुतिहरू समेत दिएका थिए। विवाहित महिलाहरूको क्षमता र प्रतिभा प्रकट गर्दै सामाजिक पहिचान बनाउन र महिलाहरूको क्षमतामा वृद्धि गर्न उद्देश्य राखी कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ।