
फिल्म ‘दैव संजोग’मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउँला’ फेरि दर्शकमाझ आउने भएको छ।
चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीतलाई समावेश गरिएको छ।
पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो। नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन्।
यो गीतको भिडियोलाई ४ दिनमा खिचिएको छ। जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो।
गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ। फिल्मका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए। यो गीतमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी र सनिषा भट्टराइले नृत्य गरेका छन्।
चिसो हावामा र धुलो उडेका कारण पनि छायांकनमा केही कठिनाइ भएको कलाकारहरूले बताए। तर, दर्शकले यो गीतको भिडियोलाई रुचाउनेमा उनीहरू विश्वस्त देखिए।
नायक राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे। गीतको भिडियोलाई नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ। फिल्ममा नायक हमाल र खनालले ३२ वर्षपछि सहकार्य गर्दैछन्। यसैले, दुवैजना गीत छायांकनका क्रममा मिडियासँग उत्साहित देखिए।
गीतको भिडियोमा सय कोरस र त्यति नै संख्यामा दर्शक राखिएको छ। एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो फिल्ममा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माण पक्षको छ।
नायक कटुवालले सुरुमा नायक हमालसँग नाँच्दा केही डर लागेपनि पछि सहज भएको बताए। यो पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू फिल्म हो। यसैले, डेब्यू फिल्मलाई लिएर उनको छुट्टै प्रकारको उमंग देखिएको छ।
यही फिल्मबाट नायक हमाल ८ वर्षपछि पर्दामा फर्किदैछन्। दर्शकका लागि हमालको पर्खाइ पनि विशेष हुने देखिएको छ।