सफलताका साथ नेपाल, जापानसहित विभिन्न देशहरूमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने भएको छ।
फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ भने क्यानबेरा लगायतका अन्य सहरहरूमा पनि प्रदर्शन सुरु हुने बताइएको छ। अस्ट्रेलियामा यसको वितरण गर्ने कम्पनी इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीले यस बारेमा जानकारी दिएका छन्।
यस चलचित्रको अस्ट्रेलिया रिलिजको लागि इस्सा भाइबले पार्टी टाइम नेपाल, सूरज बिष्ट र अजय राजवंशीसँग सहकार्य गरेको छ। वितरक क्षेत्रीले केही सहरमा रिलिजको सबै तयारी गरिसकेको र केही सहरका लागि बुकिङ ओपन गरेको जानकारी दिएका छन्। यसका लागि इच्छुकहरूले इस्सा भाइब इभेन्टको फेसबुक पेजमार्फत सम्पर्क गर्न सक्नेछन्।
नेपालमा दोस्रो हप्तामा चलिरहेको ‘एक्टर: टेक वन’लाई दर्शकबाट ‘टेक टू’को पनि माग भइरहेको छ भने यसको क्लाइमेक्ससँग सम्बन्धित दर्शकहरूले दश वर्षअघि रिलिज भएको चलचित्र ‘लुट’सँग पनि तुलना गरेका छन्।
यसका निर्देशक राजन भुसाललाई पनि उल्लेखनीय तारिफ प्राप्त भइरहेको छ।
प्रदिप खड्काले आफूलाई भर्सटाइल अभिनेताको रूपमा यस चलचित्रबाट पुन: प्रमाणित गरेका छन्। नव नायिका दिव्या रायमाझीलाई दर्शकले स्वागत गरेका छन् भने १० वर्षपछि चलचित्रमा देखिएका अभिनेता राजबल्लभ कोइरालालाई समेत विशेष रूपले मन पराइएको छ। केही वर्षको अन्तरालपछि चलचित्रमा देखिएकी अभिनेत्री आना शर्माको पनि तारिफ भइरहेको छ।
यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ।
चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यो अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।
