
अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ।
यस सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन्।
ई प्राइम मुभिजको ब्यानरमा बन्ने यो सिनेमामा हाललाई प्रमुख कलाकारका रूपमा आँचल र खगेन्द्र मात्र फाइनल भएका छन्। उनीहरूका अलावा अन्य कलाकारहरूको जानकारी निर्माण पक्षले केही समयपछि दिने जनाएको छ।
सिनेमालाई प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन्। आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने यो सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजरका रूपमा कार्यरत छन्।
को हुन् नव निर्देशक एकता पौडेल?
एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन्, र उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्ममेकिङ अध्ययन गरेकी छन्। आम सञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी एकताले केही छोटा सिनेमाहरू पनि बनाएकी छन्।
सिनेमाको छायांकन चितवनमा हुनेछ।