ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण अमेरिकाको कोलोराडोमा हुने

0 Shares

एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण आगामी २०२५ को अगस्त ९ गते अमेरिकाको कोलोराडो स्थित बोल्डरमा आयोजना हुने भएको छ। काठमाडौंमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करणको मिति घोषणा गरिएको हो।

नेपाल सरकार, बागमती प्रदेशका माननीय मन्त्री मदुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थितिमा गत सेप्टेम्बर १५ मा न्यूयोर्कमा सम्पन्न सातौं संस्करणको औपचारिक समापन र आठौं संस्करणको मिति घोषणा गरिएको थियो।

ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष, नायक नवराज श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ कार्यक्रमको घोषणा गरेका थिए।

उक्त कार्यक्रम नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा सम्पन्न भएको थियो। ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि नै आयोजना हुँदै आएको कार्यक्रमको निरन्तरता भएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष मल्लले बताएका छन्। संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी र कलाकारलाई एउटै स्थानमा जम्मा गरेर नेपाली मौलिक कला र संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उनले बताए।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए र हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना हुँदैछ। नेपाल फिल्म सोसाइटीका अध्यक्ष वरिष्ठ नायक कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष नायक नवराज श्रेष्ठ रहेका छन्।

हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले नेपाली चलचित्रको विकास र प्रोत्साहनका लागि यो कार्यक्रम भव्यतासाथ सम्पन्न गरिने बताउनुभएको छ।

आठौं संस्करणको अवार्ड घोषणा कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीसहित वरिष्ठ कलाकार र व्यक्तित्वहरू हरिहर शर्मा, शम्भुजीत बास्कोटा, शोभित उप्रेती, मोहन निरौला, बसन्त श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुसाल, तीर्थ थापा, दिपेन्द्र गौचन, मदनदाश श्रेष्ठ, राधेश्याम लेकाली, सुनिल थापा, प्रशान्त ताम्राकार, डा. भीमार्जुन आचार्य, अशोक शर्मा लगायतको उपस्थिति थियो।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’ भन्ने नारासाथ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानका लागि सन् २०१६ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ। अवार्डका अघिल्ला ७ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए।

सम्बन्धित समाचार

सबै