
निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’ को सिक्वेल निर्माण कार्य सुरु गरेका छन्। सोमबार, संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी लिएर ‘झिँगेदाउ २’ को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिएका छन्।
यो सिक्वेलमा पनि अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, र अभिनेता मुकुन भुषाल, कुशल बिष्ट पुनः देखिनेछन्। निर्देशक देउजाका अनुसार, एक नयाँ अभिनेता र एक नयाँ अभिनेत्री पनि फिल्ममा जोडिनेछन्। सिनेमाको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, त्यही बिन्दुबाट सिक्वेलको कथाको प्रारम्भ गरिने उनले बताए।
कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने यो सिनेमाको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन्।
सिनेमाको छायांकन बिष्णु कल्पितले गर्नेछन्, संगीत अर्जुन पोखरेलको हुनेछ, र रोशन श्रेष्ठ द्धन्द्व निर्देशकको रुपमा काम गर्नेछन्। मित्र डि गुरुङ सम्पादकको रूपमा कार्य गर्दैछन्। सिनेमाको फ्लोर बैशाख दोस्रो हप्ताबाट सुरु हुने तयारी छ, र निर्माण टिमले सिनेमा २०८२ सालभित्र प्रदर्शन गर्ने लक्ष्य राखेको छ।