चर्चित गायिका एलिना चौहानले विष्णु सापकोटासँगको वैवाहिक सम्बन्धलाई औपचारिक रुपमा टुंंग्याएकी छन्।
विष्णुसँगको सम्बन्धलाई बिराम दिएकी एलिनाले उनलाई सम्बोधन गर्दै फेसबुक स्टाटसबाट आगामी जीवनका लागि शुभकामना दिदैं आफ्ना मनका बहसमेत पोखेकी छन् । उनले स्टाटसमा विवाहका सात फेरा, सिन्दुर, चुरा र लगनगाँठोको सम्झना गर्दै लेखेको स्टाटसमा उनले सम्पति भन्दा शान्ति रोजेको महशुस गर्न सकिन्छ ।
‘आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु। ‘, उनले फेसबुकमा लेखेकी छन्।
वैवाहिक जीवनमा विराम हुने निश्चित भएपछि सामाजिक संजालमा उनलाई सम्पति त्यसमा पनि अष्ट्रेलियाको पिआरका लागि विवाह गरेको भन्दै ‘साइबर बुलिङ’ गरिएको थियो ।
सो साइबर बुलिङको जवाफसमेत हुने गरी उनले स्टाटसमा सम्पति भन्दा मनको शान्ति उनको रोजाइ भएको स्पष्ट पारेकी छन् ।
यस्तो छ उनले लेखेको फेसबुक स्टाटस
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। (magh 29)