कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई फिल्ममा अनुबन्ध गरेका हुन्। केही महिनाअघि मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्सलाई फिल्म निर्माणको मञ्जुरी दिइसकेको छ। ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ।
निर्माता पोखरेलका अनुसार जितु फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन्।
‘अर्को प्रमुख पात्र पनि चाँडै फाइनल हुनेछ। यसबाहेक सेकेण्ड लिडका लागि अर्की एक महिला पनि फाइनल हुँदैछिन्,’ निर्माता पोखरेलले भने, ‘चामे, गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितुको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन हुने भन्ने कुरा अहिले सस्पेन्समा राखेका छौं।’
फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, र सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ। फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरेले गर्नेछन्।
फिल्ममा यसअघि नै अभिनेत्री सुहाना थापा फाइनल भइसकेकी छन्। निर्माता पोखरेलका अनुसार फिल्मको प्रदर्शन २०८२ मा हुनेछ। यसअघि यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए।
निर्माता पोखरेलले यसपटक फिल्ममा लोकेशन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गर्ने बताउनुभएको छ। फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्नेछन्। कथामा ‘परालको आगो’मा चामे र गौंथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ।
निर्माता पोखरेलले यसअघि फिल्महरू ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’, र ‘यात्रा’ निर्माण गरिसकेका छन्।