आगामी चैत २९ गते रिलिज हुने फिल्म पिताम्बरको गीत “म त फ्यान भए यार” युट्युब ट्रेन्डिङमा परेको छ। सार्वजनिक भएको ७ घण्टामा नै गीत युट्युब ट्रेन्डिङमा समावेश भएको हो, र यो गीतलाई १२ लाखभन्दा बढी पटक हेरिएको छ।
गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ, शब्द आनन्द अधिकारीको, र संगीत आशिष अविरलको रहेको छ। फिल्मको प्रमुख कलाकार प्रदीप खड्का र दिव्या रायमाझीको जोडीलाई कोरियोग्राफर कविराज गहतराजले उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन्। गीतको छायांकन तराईको लोकेशनमा गरिएको छ, र प्रदीप र दिव्याको क्यारेक्टरलाई सयभन्दा बढी कोरसका साथमा राम्रो देखाइएको छ।
प्रदीपलाई सम्भवत: यो गीतमा पहिलोपटक कोरससहित नृत्य गर्ने देख्न पाइन्छ, जबकि अघिल्ला फिल्महरूमा उनले कमै मात्र नाच्ने दृश्य दिएका थिए। कोरस र कोरियोग्राफरले गीतको शैलीमा राम्रो मेहनत गरेका छन्। दरबारीया शैलीमा तयार पारिएको सेटका सबै प्रोपर्टीलाई पनि उत्कृष्ट ढंगले सजाइएको छ। कोरियोग्राफी, कोरस र कलाकारहरूको प्रस्तुति हेर्दा, यो गीतको मेकिङ शैली अन्तर्राष्ट्रियस्तरीय देखिन्छ।
निर्माता विशाल चौलागाईंका अनुसार, भारतबाट सेटसहित कामदार ल्याइएको थियो। “तराईको लोकेशनमा फिल्म खिचिएको हुँदा त्यहाँको माहोलमा सेट तयार गरेका हौं। सेट निर्माणमा कुनै पनि कञ्जुस्याई गरिएको छैन। यो गीतको छायांकन गर्दा झण्डै ६,००० स्थानीय सहभागी भएका थिए। क्यामरामा स्थानीयलाई नपारीकन यो गीतको काम पूरा गर्नु चुनौतीपूर्ण थियो,” विशालले भने।
बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारहरू प्रदीप र दिव्यासँगै प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, दिव्य देव, बाल कलाकारद्वय आध्या लामिछाने र सुप्रोल बुढाथोकी (अनमोल)को अभिनय छ। फिल्म पिताम्बर कृषा चौलागाईंको निर्देशनमा निर्माण भएको हो।
फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।
बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले अभिनय गरेका छन्। कृषाले यसअघि इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु, र पलास जस्ता फिल्महरूको निर्माण गरिसकेकी छन्।
विशाल चौलागाईं निर्माता रहेको फिल्मको सह–निर्माता पुरुषोत्तम प्रधान, आध्या लामिछाने र आरोह चौलागाईं हुन्। कार्यकारी निर्माता सुमन गौतम, पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका छन्। पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ। फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ।