सलोन भन्छन् – हरेक दिन देखेर पनि ‘इग्नोर’ गरिरहेको कथा हो ‘रंगी’

0 Shares

लोकप्रिय बालकलाकार हुँदै ‘होस्टल’ सिनेमाबाट अभिनेताको दोश्रो इनिङ सुरु गरेका सलोन बस्नेत आगामी शुक्रबार, फागुन २ गते सिनेमा निर्माणमा ‘डेब्यू’ गर्दैछन् । उनी आफ्नो पहिलो निर्माण ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन्।

छोरी सान्भिकाको नाममा सुरुवात गरेको कम्पनी सान्भी इन्टरटेनमेन्ट प्रालिमार्फत फिल्म निर्माणमा होमिएका सलोन फिल्ममा बाबुको भूमिकामा छन्।

सलोनका अनुसार, फिल्ममा दर्शकले उनलाई एक संघर्षशील बाबुको भूमिकामा हेर्न पाउनेछन्। ‘फिल्ममा म फूड डेलिभरी गर्ने पात्रको भूमिकामा छु। आफ्नी छोरीको पालनपोषण, शिक्षादिक्षा, हेरचाहमा बाबुले कति धेरै संघर्ष गर्नुपर्छ भन्ने कथा फिल्ममा देख्न पाउनुहुनेछ,’ सलोन भन्छन्।

सलोनले फूड डेलिभरी गर्ने एक व्यक्ति दुर्घटनामा परेपछिको भिडियो सामाजिक सञ्जालमा देखेपछि त्यही कथामा फिल्म बनाउने प्रेरणा पाएको बताए। ‘फुड डेलिभरी गर्ने एक व्यक्तिलाई सायद बसले ठक्कर दिएको थियो। त्यो भिडियो फेसबुकमा भेटें। भिडियोमा उसलाई हेर्नेको भीड थियो। भीड भित्रका मानिसले उक्त व्यक्तिलाई त्यही बसमा राखेर अस्पतालमा लैजान भनिरहेका थिए। तर फूड डेलिभरी गर्नेले ‘मेरो डेलिभरी यही ५ मिनेट पर छ। म पहिला डेलिभरी गरेर आउँछु। अनि त्यसपछि जाउँला नि’ भन्नुभयो। त्यो कुरा मेरो मनमा छोएको चिज हो। उहाँले आफ्नो ज्यान भन्दा पनि कामलाई प्राथमिकता दिनुभएको थियो। त्यो भिडियो हेरेपछि मैले निर्देशक सुरेश न्यौपानेसँग फिल्म बनाउने कुरा गरें,’ सलोन सम्झन्छन्।

सलोन आम मानिसले हरेक दिन देखेर पनि ‘इग्नोर’ गरिरहेको कथालाई ‘रंगी’मार्फत ल्याएको दाबी गर्छन्। ‘बाटोमा हरेक दिन फूड डेलिभरी गर्ने व्यक्तिहरु देखिरहेका हुन्छौं। तर हामी वास्ता गर्दैनौं। उनीहरु भित्र पनि केही कथा होला नि भनेर हामीले त्यसैमा फिल्म बनायौं,’ उनले भने।

छोरी सान्भिका जन्मिएपछि आफ्नो जीवनमा केही परिवर्तन आएको सलोनको अनुभव रहेछ। ‘छोरी जन्मिएपछि अब चाहिँ केही फरक गर्नुपर्छ। एक स्टेप भए पनि अगाडि बढ्नुपर्छ भन्ने फिल्म भयो। सधैं अभिनयबाटै कति अगाडि बढ्ने भने फिल्म निर्माणमा हात हालें। आफ्नो र छोरीको भविष्यकै लागि भए पनि फिल्म बनाउनुपर्छ भन्ने सोच आयो,’ सलोन भन्छन्। ‘मलाई कन्टेन्ट बेसको कथाका फिल्म मनपर्छ। मैले गर्न चाहेको क्यारेक्टर रंगीमा छ। कन्टेन्टसँगै समाजलाई सन्देश पनि पुगोस् भन्ने मेरो चाहना हो।’

छोरी जन्मिएपछि चरित्रको गहिराईमा पुग्न आफूलाई सजिलो भएको सलोनको बुझाई छ। ‘म रियल लाइफमा त्यही कुरा फिल गरिहेको थिएँ। जुन मेरो क्यारेक्टरले फिल्ममा फिल गर्छ। मलाई आयुषी र नम्रताले क्यारेक्टर स्थापित गर्न उत्तिकै सहयोग गरे,’ सलोन भन्छन्।

सलोनले फिल्मका लागि चाहिने प्रमुख बाल कलाकार नपाएपछि सुटिङ नै सार्नु परेको खुलाए। ‘हामीले धेरै बालिका खोज्यौं। सुहाउँदिलो क्योक्टर नभेटेपछि सुटिङ नै सार्नुपर्यो। अनि सञ्जोग रसाइलीले आयुषीको नाम लिएपछि हामीले उसले काम गरिरहेको फिल्मको सेटमा पुगेर उसको प्रस्तुती हेर्यौं। उसको काम राम्रो लागेपछि उसको ममीसँग कुरा गरेर फाइनल गर्यौं,’ सलोन भन्छन्।

सलोन ‘रंगी’बाट समाजलाई प्रतिनिधित्व गर्न खोजेको बताउँछन्। ‘बाबाको इमोसन नदेखिने इमोसन हो। मेरो बाबाले कहिल्यै मलाई इमोसन देखाउनुभएन। बाबा बलियो हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ। एउटा बाबुले ऊ एक्लो हुँदा कस्तो अनुभव गर्छ, उसले कसैलाई केही देखाउन पाएको छैन। मैले सक्दिन अब भनेर भन्न पाएको छैन। समाजले तैले गर्नुपर्छ भनिरहेको छ। त्यो कति गाह्रो हुन्छ होला भनेर रंगीको न्यारेसन यसमा छ। समाजले राम्रो हुँदा र नहुँदा कसरी हेर्छ भन्ने कथा हो,’ सलोनको भनाइ छ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ।

सम्बन्धित समाचार

सबै