ग्लोबल फिल्म डेको अवसरमा ‘महिला र फिल्म’ विषयमा राजधानीमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
ग्लोबल कम्प्याक्ट नेपाल र बटरफ्लाई फिल्म्सको आयोजनामा सम्पन्न यस कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, नेपालकी पहिलो महिला सम्पादक रक्षा सिंह राणा, निर्देशक र कोरियोग्राफर रेनेशा वान्तवा राई र नेपालकी एकमात्र महिला फिल्म वितरक जेनिश पहारी वक्ताका रूपमा सहभागी भएका थिए।
ग्लोबल कम्प्याक्ट नेपालका कार्यकारी निर्देशक कृष्ण शाहको सहजीकरणमा भएको यस कार्यक्रममा एसियाकै पहिलो महिला टेम्पो चालक, उद्योगपति र समाजसेवी लक्ष्मी शर्माले स्वागत मन्तव्य व्यक्त गरिन्।
अभिनेत्री बसुन्धरा भुसालले आफ्नो पहिलो फिल्म आमादेखि हालसम्मको बेहुली फ्राम मेघौलीसम्मको यात्रा र यस क्रममा आएका चुनौती र अवसरबारे कुरा गरिन्।
उनले भनिन्, “मैले मेरो पहिलो फिल्म कलकत्तामा गएर शुटिङ गर्ने मौका पाएँ। त्यहाँका स्टुडियोमा हिन्दी फिल्मका कलाकारहरूको अभिनय देखेर अभिनयको बारेमा केही बुझ्ने अवसर पनि मिल्यो। फिल्म क्षेत्रमा काम गर्दा घर, परिवार र समाजका आलोचनाको सामना गर्नुपर्यो। मेरी आमाले मलाई धेरै पिट्नुभयो। बाटोमा मानिसहरूले नक्कली भनेर व्यङ्ग्य गर्थे, तर पछि थाहा पाएँ कि दर्शकहरूले भने मेरो कामको प्रशंसा गर्नुभयो।” उनले थपिन् , “समयसँगै फिल्म क्षेत्रप्रति मानिसहरूको दृष्टिकोण पनि परिवर्तन भएको छ। अब हामी आफैंलाई बेच्न भन्दा आफ्नो कामलाई बेच्ने हो।”
भुसालले आफ्नो सुरुवाती दिनहरूको तुलना गर्दै हाल पारिश्रमिकमा कटौती हुन थालेको बताइन्।
“मैले हास्य कलाकारको रूपमा अभिनय सुरु गरेको बेला सरकारी तवरबाट फिल्म बनिन्थे र रोल अनुसार राम्रो पारिश्रमिक दिइन्थ्यो। जब प्राईभेट सेक्टरबाट फिल्म बन्न थाले, निर्माताले पारिश्रमिकमा बार्गेनिङ गर्न थाले। कतिपय फिल्ममा त मैले भनेकी छु, ‘पारिश्रमिक यति कम दिने भए आमाको रोल नै नगर्ने थिएँ,'” उनले भनिन्।
सम्पादक र निर्देशक रक्षा सिंह राणाले फिल्म क्षेत्रमा महिलाका लागि धेरै अवसरहरू रहेको बताउँदै त्यसका लागि आत्मविश्वास र मेहनतका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन्।
“नेपालमा विद्यालयमा कम्प्युटर शिक्षा सुरु भएको पहिलो ब्याच म थिएँ। मलाई कम्प्युटरमा रुचि थियो, त्यसैले फिल्म एडिटिङतिर गएँ। मैले १८ घण्टासम्म काम गरेको समय पनि थियो,” उनले आफ्नो अनुभव साझा गर्दै भनिन्। “एक पटक म एक्शन फिल्मको सम्पादन गर्दै थिएँ, त्यतिबेला एक प्रसिद्ध निर्देशक आएर भने, ‘नेवारी फिल्ममा महिला सम्पादक हुनु हुँदैन, सम्पादक परिवर्तन गर्नु पर्छ।’ मैले भने, ‘यो मेरो प्रोजेक्ट हो, म नै गर्छु,’ र त्यसपछि निर्देशकले बाहिर गएर भने, ‘रक्षाले राम्रो काम गरिरहेकी छिन्, यदि कसैले सम्पादनको काम खोज्दैछ भने उनीसँग गराउनुहोस्।'”
कोरियोग्राफर र निर्देशक रेनेशा वान्तवा राईले आफ्नो यात्रा र अनुभव साझा गर्दै भनिन्, “मैले कक्षा १२ पछि नृत्य निर्देशनको यात्रा सुरु गरेकी थिएँ। त्यस समय म्युजिक भिडियोको टिममा सबै पुरुष थिए। मैले पनि बोल्ड देखिन पहिरन र मेकअप प्रयोग गरें। अहिलेका नयाँ पुस्ताले सोच्दछन् कि सबै कुरा सजिलो हुन्छ, तर फिल्म क्षेत्रमा सिक्नुपर्ने धेरै कुरा छन्। यो मोबाइलबाट भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नु जस्तो सजिलो छैन।”
फिल्म वितरक जेनिश पहारीले फिल्म वितरणका विभिन्न चरण र यसका चुनौतीहरूको बारेमा जानकारी दिँदै भनिन्, “फिल्म क्षेत्रमा काम गर्दा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ र तिनीहरूलाई कसरी समाधान गर्ने भन्ने कुरा पहिले नै सोच्नु पर्छ। अन्य क्षेत्रहरूमा महिलाहरूको सहभागिता धेरै भए पनि वितरण क्षेत्रमा महिलाको संख्या कम छ। म प्रायः मिटिङहरूमा एक्लै मात्र हुन्छु। तर म मेरो उद्देश्यअनुसार काम गर्दै आएको छु।” उनले समाज र परिवारका मान्यताहरूलाई चुनौती दिँदै भनिन्, “अहिले पनि समाजमा महिलाले फिल्म क्षेत्रमा काम नगर्नु भन्ने सोच बनाइएको छ, र यसलाई हटाउनुपर्ने आवश्यकता छ।”
यस कार्यक्रमको समापन बटरफ्लाई फिल्म्सका अध्यक्ष सिर्जन श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै गरे।