‘दुखी आत्मा’को बुकिङ खुल्यो, मल्टिप्लेक्सहरुले दिए सुखद शोज

0 Shares

भोलि शुक्रबारदेखि रिलिज हुने फिल्म दुखी आत्माको बुकिङ अब खुला गरिएको छ। यो फिल्मको बुकिङ देशका अधिकांश मल्टिप्लेक्सले खोलिसकेका छन्।

दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार भएको दुखी आत्मा फिल्मप्रति प्रदर्शकहरू आशावादी देखिएका छन्, जसका कारण फिल्मले मल्टिप्लेक्समा सुखद शोज पाएको छ।

यो फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ। यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज नयाँ बाँनेश्वरमा ५ शोज, कालिमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, र आइएनआई नयाँ बाँनेश्वरमा ४ शोज मिलेको छ।

काठमाडौं बाहिर पनि फिल्मलाई सुखद शोज मिलेको छ, जसका कारण फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ।

फिल्मको टिजर, ब्रेकअप कविता र ट्रेलरले दर्शकहरूको राम्रो प्रतिक्रिया प्राप्त गरेको छ। सामाजिक कथामा नयाँ विषय प्रस्तुत गर्न सफल मानिएका दीपेन्द्र लामाको यो फिल्मले यौन समस्याका कारण एक पुरुषले भोग्नुपरेको विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ।

हिमाल कडरियाको निर्माण र सुदिप ढकालको कार्यकारी निर्मातृत्वमा तयार भएको यस फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ।

सम्बन्धित समाचार

सबै