‘भाइरल गोर्खे’को फर्स्टलुकमा यस्तो देखिए सौगात , जेठ ३० मा हुनेछ रिलिज

0 Shares

‘भाइरल गोर्खे’ को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ।

फागुन २ गते, शुक्रबार (भ्यालेन्टाइन डेको अवसरमा) सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी वर्षको जेठ ३० गतेदेखि प्रदर्शनमा आउने घोषणा गरिएको हो ।

शुक्रबार सार्वजनिक गरिएको एक पोस्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्थामा देखाइएको छ। अर्को पोस्टरमा उनी लाइभ हुँदा अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक मुडमा प्रस्तुत भएका छन्।

यी पोस्टरहरूले सिनेमा पछिल्लो समय नेपालमा विकृतिका रूपमा मौलाउँदै गएको भाइरल प्रवृत्ति लाई व्यंग्य गर्ने संकेत गर्छ।

सिनेमाका निर्देशक निगम श्रेष्ठ हुन् ।

निर्देशक निगम श्रेष्ठका अनुसार सिनेमा सामाजिक सञ्जालको प्रयोग र प्रभावबारे केन्द्रित हुनेछ।

उनले भने, “नेपालमा भाइरल हुने नाममा जे पनि गर्ने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ। यही विषयवस्तुमा आधारित रहेर हाम्रो सिनेमा निर्माण गरिएको हो। भाइरल प्रवृत्तिको प्रभाव र परिणाम सिनेमामा प्रस्तुत गरिनेछ।”

द जिएमआई एकेडेमीनिर्वाण फिल्म स्कुल को ब्यानरमा निर्माण भएको सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठका साथै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, तथा ऋषि धमलाले अभिनय गरेका छन्। सिनेमाका निर्माताहरू विशाल ताम्राकार, महेश लामिछाने, र केवल जंग कुँवर हुन्, भने सह-निर्मातामा भुवन अधिकारी र निखिल पौडेल छन्।

अमर महर्जनको छायांकन रहेको सिनेमालाई लमजुङको भुजुङ गाउँ, गोरखा, र चितवनका विभिन्न स्थानमा छायांकन गरिएको हो।

सम्बन्धित समाचार

सबै