टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहूर्त सम्पन्न

0 Shares

 गायक र संगीतकार टंक बुढाथोकीले निर्माण र निर्देशन गर्ने चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहूर्त सम्पन्न भएको छ। शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पूजा गर्दै चलचित्रको मुहूर्त गरियो। सरोज खनालले क्ल्याप हिर्काए, युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरे, र बाल गायक अशोक दर्जी तथा कलाकार सन्तोष पन्तले मुहूर्त शर्ट दिएका थिए। चलचित्रको छायांकन आजदेखि नै सुरु गरिएको छ।

‘मन बिनाको धन’ शीर्षकमा बन्ने यस चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन्। चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर. बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारहरूको अभिनय रहनेछ।

चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकीले आफैले लेखेका छन्, भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्। सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरण गर्नेछ। चलचित्रको निर्माता विष्णु माया मैनाली र सह-निर्माताहरू जीपी संग्रौला, लक्ष्मी गिरि, विवेक नेपाल, विजय पाण्डे छन्, भने कार्यकारी निर्माता मिनु शर्मा (सपना) रहेका छन्।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन परिवर्तन गरेका छन्। उक्त गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन्।

चलचित्रमा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहनेछन्। चलचित्रमा अरुण रेग्मी र अर्जुन पोखरेल प्रोडक्सन मेनेजर रहेका छन्।

सम्बन्धित समाचार

सबै