
नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।
साइन्स फिक्सनमा आधारित यस चलचित्रका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक भएको हो।
पोस्टरमा ठकुरीलाई डरलाग्दो रुपमा देखाइएको छ, जहाँ उनको क्यारेक्टर नाम ‘काल’ रहेको उल्लेख छ।
सुरज सिंह ठकुरी कम चलचित्रमा देखिए पनि आफ्नो भूमिकालाई प्रभावशाली बनाउने कलाकारका रूपमा चिनिन्छन्। उनको यो नयाँ लुक्सले ‘एक्लो’ प्रतिको दर्शकको उत्सुकता अझै बढाएको छ। चलचित्र केही फरक हुने अनुमान दर्शकले गर्न सक्छन्।
यस चलचित्रको निर्देशन प्रदीप शाहीले गरेका छन्। बेलायतमा बसोबास गर्दै आएका शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो। ‘एक्लो’ लाई हलिउड स्तरको सिनेमा बनाउने उद्देश्यका साथ उनी यसमा लागिपरेका छन्। हाल लण्डनमा चलचित्रको पोस्ट-प्रोडक्सनको कार्य भइरहेको छ। सम्पूर्ण कार्य सम्पन्न भएपछि मात्र प्रदर्शन मिति घोषणा गरिने निर्देशक शाहीले बताएका छन्।
चलचित्रमा कलाकारहरूको लामो सूची छ। यसमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहका साथै बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ।
चलचित्र ‘एक्लो’ का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्।
बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङले द्वन्द्व निर्देशन गरेका छन्। सेट डिजाइनर राजु पेन्टर, कला निर्देशक सन्तोष लामा तथा प्रोडक्सन डिजाइनर द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन् ।