
१ सय २० दिनमा सन्तोष सेनको ‘बलिदान’को छायाँकन सकिएको छ ।
योसँगै‘बलिदान’ले सबैभन्दा धेरै दिने खिचिएको नेपाली सिनेमा बनेको छ ।
यो एउटा नेपाली सिनेमाको छायाँकनमा भएको कीर्तिमानसमेत हो । धेरैजसो सिनेमा ३०-३० दिनमा खिचिने गरेका छन् भने केही सिनेमाले ९० दिनसम्म छायाँकन गरेका छन् । भदौ २२ गतेबाट फ्लोरमा गएको सिनेमा दशैं र तिहारको समयमा झन्डै एक महिना रोकिएको भएपनि मंसिर ७ गतेबाट पुनः फ्लोरमा गएको थियो।
शुक्रबार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा सिनेमाका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माले अन्तिम दृश्य दिएसँगै सिनेमाले आफ्नो दुई सेड्यूलको छायाँकन समापन गरेको हो ।
छायांकन समापन पछि निर्देशक तथा निर्माता सन्तोष सेनले सिनेमा निर्माणमा कुनै सम्झौता नगरेको बताएका छन् ।
उनले भने, ‘कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक र प्रविधिको छनोट, हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ । शारीरिक, मानसिक र भावनात्मक रूपमा धेरै सङ्घर्ष गर्यौँ, तर सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौँ ।’
केही हप्ताभित्रमा टिजरमार्फत सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माणपक्ष रहेको छ ।
सम्भवतः सिनेमा आगामी दशैंको फूलपातीमा रिलिज हुने ठानिएको छ ।
एक्सन कथामा निर्माण भएको सिनेमामा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव, कामेश्वर चौरसिया लगायतको अभिनय छ ।
यसमा निर्माता-निर्देशक सन्तोष सेनले पनि महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
‘बलिदान’मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामले एक्सन दृश्य कोरियोग्राफी गरेका छन् ।
गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले गीत, सङ्गीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको सिनेमामा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्मातामा रहेका छन् ।