जल शाहकी छोरी कलशबाट शिक्षा फाउण्डेसन घोषणा, दुर्गमका बालबालिकाको शिक्षामा सघाउने

0 Shares

अभिनेत्री जल शाहकी १६ वर्षीया सुपुत्री कलश रिमालले ‘शिक्षा फाउण्डेसन’ को औपचारिक घोषणा गरेकी छिन्। नेपालका दुर्गम भेगका शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्य बोकेको फाउण्डेसनबारे आइतवार काठमाडौंमा आयोजित एक समारोहमा जानकारी दिइयो।

कलशले कार्यक्रममा आफ्ना बुवा–आमाले टीका लगाएर दिएको दक्षिणा, जन्मदिनमा प्राप्त उपहार रकम संकलन गरी ‘शिक्षा फाउण्डेसन’ मार्फत समाजसेवाको थालनी गरेको जानकारी गराइन्।

समारोहमा बोल्दै उनले अमेरिकामै जन्मिएर हुर्किए पनि नेपाल, नेपाली भाषा तथा यहाँका दुर्गम भेगका बालबालिकासम्म शिक्षाको पहुँच पु¥याउने उद्देश्यले संस्थागत रूपमा समाजसेवा सुरु गरेको बताइन्।

उनकी आमा, अभिनेत्री जल शाहले आफ्नी दिवंगत आमा, साहित्यकार प्रेमा शाहको गुण छोरी कलशमा आएको स्मरण गर्दै, नेपालमा समाजसेवाप्रति कलशले देखाएको रुचिलाई आफू र आफ्ना श्रीमानले पूर्ण साथ र समर्थन गरेको बताइन्।

गत वसन्त पञ्चमीका दिन कलश तथा जलले काभ्रेको एउटा गाउँको विद्यालयमा अध्ययनरत ५५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका थिए। पत्रकार सम्मेलनमा सोही समारोहसमेत समेटिएको जानकारीमूलक भिडियो सामग्री प्रदर्शन गरिएको थियो।

कलशले अमेरिकामा रहँदा आफ्ना अभिभावकबाट प्राप्त पकेट मनी जोगाएर तथा पार्ट-टाइम कामबाट बचत गरेको रकम संकलन गरी काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिकाका विभिन्न चार विद्यालयका विपन्न विद्यार्थीलाई जाडोमा लगाउने पहिरन, शैक्षिक सामग्री, स्यानिटरी प्याड, हर्लिक्ससहितका खाद्य सामग्री उपलब्ध गराएको जानकारी दिइन्।

त्यसैगरी, उनले स्थानीय दुई जना विद्यार्थीका लागि एक वर्षको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिन्। करिश्मा मगराती र यूनिक कोइरालालाई अध्ययन खर्चका लागि जनही ३५ हजारका दरले ७० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन्।

आइतवारको पत्रकार सम्मेलनमा सोही रकम सञ्चारकर्मी उत्सव रसाइलीकी आमालाई हस्तान्तरण गरिएको छ। चौरी देउराली गाउँपालिका निवासी रसाइलीले सो रकम विद्यालयमा हस्तान्तरण गर्नेछिन्।

समारोहमा पत्रकार ऋषि धमलाले आगामी वर्षदेखि दिवंगत साहित्यकार तथा कलशकी हजुरआमा प्रेमा शाहको नाममा एक लाख रुपैयाँ राशिको ‘प्रेमा शाह साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गरिने घोषणा गरे। उक्त पुरस्कार ‘रिपोर्टर्स क्लब’ को वार्षिकोत्सव समारोहमा प्रदान गरिने छ।

त्यस्तै, फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदै गरेको नयाँ नेपाली फिल्म ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठले ‘शिक्षा फाउण्डेसन’ लाई नगद एक लाख एघार हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे।

समारोहमा सञ्चारकर्मी प्रकाश सुवेदीले कलश रिमालले नेपाली फिल्ममा अभिनेत्रीका रूपमा डेब्यू गरेमा आफूले पत्रकारिताबाट सन्यास लिने घोषणा गरे।

सम्बन्धित समाचार

सबै