
नेपालका सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र भूठान ले मोशन पोस्टर सार्वजनिक गरेको छ। आगामी २०७२ वैशाख १२ मा प्रदर्शन हुने यो चलचित्रको टिजर फागुन ९ मा आउने घोषणा गरिएको छ।
अंग्रेजीमा The World’s Happiest Man नाम दिइएको यस चलचित्रमा हरिवंश आचार्यका अलावा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द-लामा, रिचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा हलिउडका प्रसिद्ध अभिनेता ब्रुस डर्नले विशेष भूमिका निभाएका छन्। SAG-AFTRA अन्तर्गत निर्माण भएको यो पहिलो नेपाली चलचित्र हो, जसमा हलिउडका अनुभवी प्राविधिकहरूको समेत संलग्नता रहेको छ।
सन् २०१९ मा बुलबुल निर्देशन गरी ९२औं अस्कर अवार्ड को लागि नेपालको आधिकारिक छनोटमा परेका तथा नेपाल सरकारले सर्वोत्कृष्ट निर्देशक को राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरेका विनोद पौडेलको निर्देशनमा बनेको यो दोस्रो चलचित्र हो। पौडेलका अनुसार भूठान कुनै विशेष क्षेत्र वा समुदायका लागि मात्र नभई, विश्वभरका दर्शकलाई भावनात्मक रूपमा छोउने कथावस्तु बोकेको चलचित्र हो।
चलचित्रका निर्माता मध्यका एक, अविरल थापाले, “वैशाख १२ मा हरिवंश आचार्यको पुनर्जन्म हुनेछ” भन्ने दाबी गरेका छन्। नेपालमा चलचित्रको वितरण आरआर फिल्मस् प्रोडक्सन ले गर्नेछ भने, अमेरिका र क्यानडामा Buffalo 8 कम्पनीले वितरणको जिम्मेवारी लिएको छ। अमेरिकास्थित निर्माता राजेन्द्र ठकुराठीका अनुसार चलचित्रलाई विश्वव्यापी रूपमा पुर्याउने योजना बनाइएको छ।
भूटानदेखि भारत, नेपाल हुँदै अमेरिका बसोबास गरिरहेका भूटानी समुदायको देशप्रेम, आफ्नो थातथलो छोड्नुपर्दाको पीडा तथा आफन्त गुमाउँदाको अनुभूतिलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्र आफ्नै जन्मभूमि हराउँदाको पीडालाई चित्रण गर्छ।
चलचित्रको प्राविधिक पक्षमा सुसन प्रजापति (छायांकन), अन्जय खड्का (सम्पादन), डिकेश खड्गी शाही (ध्वनि), सुर्य शाही (कास्टिङ), उज्ज्वल श्रेष्ठ (पब्लिसिटी डिजाइन), विमल सुवेदी (प्रोडक्सन डिजाइन) तथा बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेल (कला निर्देशन) रहेका छन्। निर्देशक पौडेललाई किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल र समुन्द्र राज घिमिरेले सहनिर्देशनमा सघाएका छन्।
चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेस्ट इन्टरटेनमेन्ट (अमेरिका) को सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मस ले निर्माण गरेको हो।