असार २७ मा आउने भयो “यो मन त मेरो नेपाली हो”

0 Shares

चलचित्र “यो मन त मेरो नेपाली हो” को प्रदर्शन मिति तय गरिएको छ। चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ साल असार २७ गते बाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। चलचित्रलाई आरआर फिल्मस् प्रा. लि. ले वितरण गर्नेछ।

चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजबंशी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रा. लि. र नर प्रधान को प्रस्तुतिमा निर्माण भएको यस चलचित्रले विदेशमा रहेका नेपालीहरूको मुद्दालाई उठान गर्ने प्रयास गरेको छ। चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली पहिचान को विषयलाई उजागर गर्न खोजेको छ।

शिवम् अधिकारी को लेखनमा निर्माण भएको चलचित्रले विश्वभर बसोबास गर्ने नेपालीहरूले आफ्नो कला, संस्कार, र संस्कृति बिर्सदै गएकाले नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्शाउन खोजेको छ।

“यो मन त मेरो नेपाली हो” मा दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राई को संगीत, सौरभ लामा को छायांकन, बनिश शाह को सम्पादन, देव महर्जन को द्वन्द्व, रेनिश फागो को कलरिस्ट, तथा कविराज गहतराज र प्रमोद भण्डारी को कोरियोग्राफी रहेको छ।

सम्बन्धित समाचार

सबै