धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ।
नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच सम्पन्न उक्त सम्झौतामा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा, उपमेयर निराजन जंगम, चलचित्र विकास बोर्ड सदस्य केवल पिडित तथा चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो।
सम्झौता कार्यक्रममा अध्यक्ष डिसीले धुलिखेलमा चलचित्र विकास बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गर्दै भने, “यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि कोशेढुंगा सावित हुनेछ। प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधिको संयोजनमार्फत चलचित्र निर्माणलाई सहज बनाउने हाम्रो परिकल्पना छ।”
त्यस्तै, धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि नगरपालिकाले हरतरहले साथ दिने प्रतिबद्धता जनाउँदै भने, “यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा स्थापित गर्नुका साथै पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
चलचित्र विकास बोर्डका अनुसार यो परियोजना नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय चलचित्र निर्माता तथा निर्देशकहरूलाई समेत आकर्षित गर्ने लक्ष्यसहित अगाडि बढाइने छ।