पाटन उच्च अदालतले रिलिजको निकट रहेको ‘लाज शरणम’सिनेमाको प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ ।
मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
सिनेमामा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै आलमले रिट दायर गरेका थिए ।
आलमले चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।
‘निवेदकको संविधान कानून प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरि पात्रले अभिनय गरेको प्रस्तावित लाज शरणम नामक चलचित्रको विज्ञापन सामाजिक संजाल तथा अन्य सार्वजनिक संचारमाध्यममा प्रचारप्रसार र सो सम्बन्धी पोस्टहरु प्रकाशन, प्रसारण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिनू ।’, आदेशमा भनिएको छ ।
आदेशले जेपीटी क्रिएसनले निर्मित ‘लाज शरणम’को फागुन १४ गतेको रिलिजमा अन्योलता छाउने देखाइएको छ।

