दर्शकमाझ लोकप्रिय गायन र नृत्यमा आधारित रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सीजन-२ को हङकङ अडिसनबाट ८ जना प्रतिभा काठमाडौंमा आयोजना हुने प्रतिस्पर्धाका लागि छनोट भएका छन्।
‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ द्वारा नेपालमा आयोजना गरिने यी रियालिटी शोका लागि १५ फेब्रुअरीमा हङकङको जोर्डनस्थित ब्लु ओसन रेष्टुराँको सभाहलमा अडिसन कार्यक्रम आयोजना गरिएको थियो।
दुई रियालिटी शोका अडिसन कार्यक्रम खुसी इभेन्ट्सकी प्रवन्ध निर्देशक खुसी गुरुङ, संयुक्त डान्स स्टुडियोकी सञ्चालिका सुकु लिम्बु र डिभाइन डान्स स्टुडियोकी संस्थापक सोफिया गुरुङको संयोजनमा सम्पन्न भएको हो।
उक्त अडिसनबाट गायनतर्फ टोपराज तामाङ, डिकेश तामाङ, सौरभ पाख्रिन तामाङ, अनुपकुमार बराइली र बिन्नी लामा राई गरी पाँच जना छनोट भएका छन्। नृत्यतर्फ रिस्ता गुरुङ, युविका राना, आयुष्मा राई, दीक्षा गुरुङ र अञ्जली पुन गरी पाँच जना छानिएका छन्। अडिसनमा नृत्यतर्फ १४ जना र गायनतर्फ ८ जना, जम्मा २२ जनाले भाग लिएका थिए।
गायनतर्फको अडिसनमा हङकङवासी गायिका सरला गुरुङ र मनोज गुरुङ निर्णायकका रूपमा रहेका थिए, भने नृत्यतर्फको निर्णायक मण्डलमा अमेरिकाबाट आएका नृत्य निर्देशक तथा मोडल शंकर बिसी र हङकङवासी कोरियोग्राफर तथा मिस लिम्बु ब्युटी कन्टेस्टका संस्थापक युगल पोमु थिए।
अश्मि गुरुङद्वारा सञ्चालन गरिएको अडिसनमा निर्णायक बिसीसँगै आयोजक संस्था इन्ट्राका सदस्य रोशन विष्ट, लालबहादुर तिवारी, सोनु तामाङ र अथिराज शिवाकोटी पनि सहभागी थिए।
यो अन्तर्राष्ट्रिय स्तरको नेपाली गायन र नृत्यमा आधारित रियालिटी शोका विजेतालाई ठूलो पुरस्कार राशि प्रदान गरिने छ। दुवै शोका विजेतालाई एक करोड रुपैयाँ पुरस्कार दिइनेछ भने दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ लाख र १० लाख रुपैयाँ प्रदान गरिने छ।
‘मेरो डान्स युनिभर्स’ अन्तर्गत हरेक एपिसोडको प्रारम्भमा प्रस्तुत गरिने सामूहिक नृत्य पनि प्रतियोगितात्मक हुने छ, जसमा विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तृतीय स्थान प्राप्त गर्ने टिमले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्।
यो शोले विश्वका विभिन्न ठूला सहरहरूमा अडिसन लिँदै अघि बढिरहेको छ। यस शोको पहिलो संस्करण सन् २०२३ मा आयोजना गरिएको थियो। यस वर्षको ‘मेरो भ्वाइस युनिभर्स’ मा दीप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान र अञ्जु पन्त निर्णायकको रूपमा रहने छन्। ‘मेरो डान्स युनिभर्स’ को निर्णायक मण्डलमा मिथिला शर्मा, दीलिप रायमाझी, शिल्पा मास्के, शंकर बिसी, कविराज गहतराज र किरण थापा रहनेछन्।
त्यसअघि, गत १३ फेब्रुअरीमा हङकङकै ब्लु ओसन रेष्टुराँमा आयोजकको तर्फबाट मीट एण्ड ग्रीट कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न जिल्लाका अध्यक्षहरू र जातजातिका संस्थाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
