
निर्देशक भीमसेन लामाद्वारा निर्देशित ब्रिटिश फिल्म ‘कामा’ मार्च ७ मा यूके र आयरल्याण्डका २६० भन्दा बढी सिनेमा घरमा एकसाथ प्रदर्शन हुने भएको छ। यो फिल्म सस्पेन्स, एक्शन र थ्रिलले भरिपूर्ण रहेको बताइन्छ।
फिल्मले युकेका विभिन्न स्थानहरूमा भएका घटनाहरूमा आधारित रहेर विश्वाशघात र बदलाको लागि मानिस के हदसम्म जान सक्छ भन्ने विषयलाई उजागर गरेको छ। फिल्मको ट्रेलरले दर्शकहरूको मन जितिरहेको छ।
फिल्ममा हलिउडका कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथ नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा छन्। विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता र एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माताका रूपमा रहेको यस फिल्मको कथा स्व. बिसारद बस्नेतको हो भने स्क्रिप्ट हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन्।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै निर्माण गरिएको ‘कामा’ ले इटालीको मिलान इन्टरनेशनल फिल्म मेकर फेस्टिवलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट, सर्वोत्कृष्ट अभिनेता र सर्वोत्कृष्ट अभिनेत्रीको चार अवार्ड जितेको थियो। यसैगरी, म्याड्रिड इन्टरनेशनल फिल्म फेस्टिवल–२०२४ मा सर्वोत्कृष्ट अभिनेता, सिनेमाटोग्राफर र सहअभिनेताको अवार्ड जितेको छ। यस फिल्मले थुप्रै फेस्टिवलहरूमा नोमिनेशन प्राप्त गरेको छ।
लामो समयदेखि युकेमा बसोबास गर्दै आइरहेका अभिनेता र निर्माता विक्रम जोशीले यसअघि ‘पासवर्ड’, ‘ह्याप्पी डेज’, ‘हेलो जिन्दगी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता फिल्महरू निर्माण गरिसकेका छन्। ‘कामा’ छिट्टै अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरूका हलमा प्रदर्शन हुनेछ। केही समयपछि यो फिल्म हिन्दीमा भारत र नेपाली भाषामा नेपालका हलमा पनि प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको छ।