कस्तो बनेको छ सुपुष्पाको ‘फेरि रेशम फिलिली’ ?, भन्छिन् – स्क्रिप्ट जस्तो लेखिएको छ, सिनेमा त्यस्तै बनेको छ

0 Shares

अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन्।

सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो सिनेमा उनको होम प्रोडक्सन हो। सिनेमाका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन्। सिनेमा रिलिजका लागि केही दिनहरू मात्र बाँकी छन्। रिलिज मिति नजिकिँदै गर्दा सिनेमाका बारेमा गफिँदा सुपुष्पामा सिनेमा र सिनेमामा आफूले गरेको कामप्रति ‘फिङ्गर क्रस’ भाव देखिन्थ्यो।

यद्यपि, कुराकानी बढ्दै जाँदा सिनेमा राम्रो बनेकोमा उनी ढुक्क भएको महसुस गर्न सकिन्थ्यो।

सिनेमामा ‘फिलिली गर्ल’ बन्दै छु भन्ने थाहा पाउँदा उनलाई कस्तो लागेको थियो त?

भन्छिन् – “सबैभन्दा माथि पुगेजस्तो भयो। एकदमै खुशी लागेको थियो। प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो। राम्रो सिनेमामा काम गर्न पाएँ भनेर खुशी भएँ।”

निर्देशक निरोज महर्जनले लेखेको सुपुष्पाको चरित्रका लागि कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए, त्यसमा सुपुष्पा ठ्याक्कै फिट हुन्थिन्। त्यसैले उनले अरूलाई खोज्ने कष्ट गरेनन् पनि।

यो सिक्वेलमा लगभग पहिलो श्रृंखलाका सबै कलाकार छन्। यो सिनेमाको लिडिङ महिला पात्रमा भने उनी नयाँ अनुहार बनेर आएकी छिन्। त्यसैले उनलाई पहिलो सिनेमाको चुनौती सामना गर्ने चुनौती छ।

यसमा उनको भनाइ यस्तो छ –

“त्यो र योमा तुलना नै गर्न मिल्दैन। दुवै पात्र एक-अर्कासँग बिल्कुलै फरक छन्।”

सुपुष्पाका अनुसार उनले निर्वाह गरेको पात्र बोल्ड छ, जो आफूले चाहेको कुरामात्र सोच्छ र आफूलाई ‘मैं हूँ’ ठान्छ।

“मैले निर्वाह गरेको चरित्रलाई मैले सक्ने मेहनत गरेको छु। त्यो कति फलदायी भयो भन्नेचाहिँ दर्शकबाट बुझ्न बाँकी छ।”

योसँगै फेरि उनलाई पात्रका लागि चाहिनेजति तयारी नपुगेको हो कि भन्ने पनि छ। यसैबीच अर्को सिनेमालाई पनि समय दिएकाले आफ्नो मेहनत नपुगेको हो कि भन्ने उनलाई लागेको हो।

मेहनत नपुगेको जस्तो लागेकी उनी भन्छिन् – “अझ मेहनत गर्न सक्थे जस्तोचाहिँ लागेको छ।”

सिनेमा गर्दा सुपुष्पाको एउटै चाहना हुन्छ – सिनेमाको स्क्रिप्ट राम्रो होस्, राम्रो परिदृश्य दिइयोस्।

संयोगवश ‘फेरि रेशम फिलिली’ त्यस्तै सिनेमा भइदियो उनका लागि। स्क्रिप्ट त राम्रो छ नै, यो सिनेमाको साथमा उनको भूमिकासमेत उत्तिकै राम्रो मिलेको छ।

“मलाई सिनेमाको कुरा आउँदा स्क्रिप्ट राम्रो होस् भन्ने सधैँ लाग्छ। यो सिनेमामा चाहिँ स्क्रिप्टसँगै मेरो भूमिका पनि उत्तिकै राम्रो भएको आयो”, उनले खुशी व्यक्त गरिन्।

उनले गरेको पात्र ‘च्यालेन्जिङ’ भएको उनको भनाइ छ। त्यही च्यालेन्जिङ भएकैले उनलाई दर्शकले यसलाई कुन रूपमा ललान् भन्ने चिन्ता भइरहेको छ।

“चिन्ता पनि छ अनि राम्रो हुन्छ भन्ने पनि छ। एक प्रकारले राम्रो आशा र के होला भन्ने नर्भसनेस भइरहेको छ”, उनले भनिन्।

आफ्नो सिनेमालाई तत्कालै कति रेटिङ दिनुहुन्छ भन्ने प्रश्नको उत्तर दिन अस्वीकार गरेकी उनले कुराकानीको अन्तिममा भने सिनेमाप्रति आत्मविश्वास पनि व्यक्त गरिन् र भनिन् – “जस्तो गरी लेखिएको थियो, त्यसै गरी पर्दामा उत्रिएको छ।”

सिनेमा फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुँदैछ।

सम्बन्धित समाचार

सबै