
‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठ भन्छन्, “चलचित्र निर्माणका लागि मैले कुनै सम्झौता गरेको छैन। बजेट, लोकेसन र समय— कुनै पनि कुरामा सम्झौता नगरि नै यो प्रोजेक्ट अगाडि बढाएको छु।”
रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनका लागि यो पहिलो फिल्मी लगानी हो। यसअघि उनले कला, साहित्य, र सिनेमामा पैसा नलगाएका थिए। “‘लाज शरणम्’ को टिम र मेहनत देखेर मैले चलचित्र क्षेत्रमा पाइला टेकेको हुँ। अब यहाँ आएको छु भने पछि हट्दिनँ, फिल्ममै लगानी गरिरहन्छु,” उनी भन्छन्।
रियलस्टेट व्यापार केही सुस्ताए पनि चलचित्रलाई निरन्तरता दिने नवीनको अडान छ। आफू फिल्म क्षेत्रमा आउनुको अर्को कारण पनि उनी खुलाउँछन्।
“चलचित्र विदेशबाट पैसा भित्र्याउने राम्रो माध्यम हुन सक्छ। जस्तो विदेशी फिल्महरूले नेपालबाट पैसा लैजान्छन्, त्यस्तै गरी हामीले पनि विदेशी बजारबाट डलर ल्याउनुपर्छ। त्यसका लागि गुणस्तरीय फिल्म बनाउनैपर्छ,” उनी भन्छन्।
नेपाली फिल्मलाई डलर भित्र्याउने माध्यम बनाउन कलाकार, निर्माता, र सरकारले मिलेर अघि बढ्नुपर्ने उनको धारणा छ।
‘सक्किगोनि’ टिमले निर्माण गरेको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आउँदै छ। फिल्ममा मुख्य भूमिकामा धुर्मुस (सिताराम कट्टेल) छन्, भने निर्देशन कुमार कट्टेलले गरेका छन्।
फिल्ममा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ।
जेपिटी क्रियसन को ब्यानरमा बनेको यो सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने सह-निर्मातामा राम नरेश शाह र सिर्जना खड्का छन्।