‘लाज शरणम्’को बुकिङ खुल्यो, यस्तो छ देशभर पाएको शो

0 Shares

चलचित्र ‘लाज शरणम्’ को अग्रिम बुकिङ खुला भएको छ। बुधबारबाट प्रदर्शनमा आउने यो चलचित्रको बुकिङ सोमबारबाट खुलाइएको हो।

देशभरका मल्टिप्लेक्स हलहरूले चलचित्रलाई उत्साहजनक शो प्रदान गरेका छन्। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स ले ६५ शो दिएको छ, जसमा काठमाडौं उपत्यकाका हलहरूमा २९ र उपत्यका बाहिर ३६ शो समेटिएका छन्।

अन्य मल्टिप्लेक्सहरूमा विग मुभिज ले ५, एफक्यूब सिनेमाज ले ४, बीएसआर ले ४ शो दिएका छन्। आईएनआई र वान सिनेमाज ले अझै शो निर्धारण गर्न बाँकी छ। हालसम्म खुलिसकेका हलहरूको सूचीअनुसार ‘लाज शरणम्’ ले १०१ शो पाएको खल्ती एप मा देखिएको छ।

‘लाज शरणम्’ वर्षकै बहुप्रतीक्षित चलचित्रहरूमध्ये एक हो। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते बाट प्रदर्शनमा आउँदैछ।

लोकप्रिय हास्य टेलिशृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको यो चलचित्रमा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) रहेका छन्। चलचित्रको निर्देशन कुमार कट्टेल ले गरेका हुन्।

चलचित्रमा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारहरूको अभिनय रहेको छ।

जेपिटी क्रियसन को ब्यानरमा बनेको यस चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा रहेका छन्।

सम्बन्धित समाचार

सबै