३१ विधामा अवार्ड प्रदान गर्दै १३औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

0 Shares

शुक्रबारबाट सुरु भएको ‘१३औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ।

यो महोत्सव काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह-आयोजनामा सम्पन्न भएको हो।

महोत्सवमा तीन दिनसम्म चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्र एवम् चलचित्रकर्मीलाई पुरस्कृत गरिएको हो। महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिए।

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा समापन समारोहमा स्वदेशी तथा विदेशी विजेतालाई अवार्ड प्रदान गरियो।

यो महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाको गुड मदर ले, अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको जायद ले पायो। अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतको देवेन्द्र जादव निर्देशित लोनी ट्युन्स ले, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बङ्गलादेशको सौदा ले, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेसल मेन्सन अवार्ड बेलायतको जेन्ट पपेट्स फर डिग्निफाइड मिन्सुरेसन्स ले र अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको द टेम्पल अफ इटर्नल साउन्ड ले जित्यो।

अन्तर्राष्ट्रिय विधातर्फको निर्णायकमा दक्षिण अफ्रिकाबाट क्याथेरिन सोफियानोज, भारतबाट अंकित बाघ्छी, बङ्गलादेशबाट साहदत्त रुसेल र नेपालबाट निर्माता, निर्देशक तथा अभिनेत्री रोशनी केसी रहेका थिए।

महोत्सवमा नेपालबाट ३० वटा चलचित्र सहभागी थिए, जसमा ७ वटा कथानक चलचित्र थिए। जसमा सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड छक्का पन्जा ५ ले, यही चलचित्रबाट निर्देशकको जुरी अवार्ड दिपाश्री निरौलाले र सर्वोत्कृष्ट सह–अभिनेताको अवार्ड केदार प्रसाद घिमिरेले पाए। सर्वोत्कृष्ट निर्देशकको अवार्ड तेल भिसा बाट शंकर घिमिरेले हासिल गरे भने यही चलचित्रबाट विपिन कार्कीले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते। तेल भिसा कै ऋचा घिमिरेले सर्वोत्कृष्ट सह–अभिनेत्रीको अवार्ड प्राप्त गरिन्।

चलचित्रतर्फ स्पेसल मेन्सन अवार्ड द्रौपदी का ऋषिराज आचार्यलाई प्रदान गरियो भने जुरी अवार्ड द्रौपदी कै अभिनेत्री अश्विनी शाहीलाई प्रदान गरियो। सर्वोत्कृष्ट नायिकाको अवार्ड ऐँचो पैँचो बाट वर्षा राउतले प्राप्त गरिन् भने यही चलचित्रका निर्देशक कृषा चौलागाईंले सर्वोत्कृष्ट नव–निर्देशकको अवार्ड जिते। नव–अभिनेत्रीको अवार्ड संकल्प बाट अनुष्का बुढाथोकीले पाइन् भने संगीतकारको अवार्ड लन्डन टु पेरिस को खुला आकाश गीतबाट हर्कुलेस बस्नेतले प्राप्त गरे।

कथानक चलचित्रको निर्णायकमा चलचित्र निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे रहेका थिए।

यस्तै, राष्ट्रिय विधामा उत्कृष्ट लघु चलचित्रको अवार्ड द ट्री म्यान बाट सन्तोष सुवेदीले, लघु चलचित्रतर्फ उत्कृष्ट अभिनयको अवार्ड नो स्मोकिङ प्लिज बाट कृपा प्याकुरेलले, र स्पेसल मेन्सन अवार्ड नो स्मोकिङ प्लिज कै भूपेन्द्र कुमार खड्काले प्राप्त गरे।

म्युजिकल लघु चलचित्र विधामा निर्देशकको अवार्ड तिमी आँसु रहेछौ बाट सोनम पाख्रिनले, सर्वोत्कृष्ट सांगीतिक चलचित्र अभिनेताको अवार्ड भुल्नै गारो भो बाट सनम कठायतले, यही चलचित्रकै पवित्र शाँकी (मिस पबी) ले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन्। सर्वोत्कृष्ट सांगीतिक चलचित्र गायकको अवार्ड जुनी काटम्ला बाट हेमन्त शिशिरले जिते भने सांगीतिक लघु चलचित्र डान्स कोरियोग्राफरको अवार्ड थिंक अबाउट यु बाट रविता मगरले हासिल गरिन्।

सर्वोत्कृष्ट वृत्तचित्र र निर्देशकको अवार्ड डिजाइनड टु डिसअपेयर बाट शिव पुरीले जिते। यही वृत्तचित्रबाटै शिव पुरीले सर्वोत्कृष्ट सम्पादकको अवार्ड पनि चुमे।

राष्ट्रिय आदिवासी चलचित्रको अवार्ड सागर केरुङ निर्देशित के २ ले, लघु विद्यार्थी चलचित्रको अवार्ड द स्कुल वाल बाट मोहन अभिलाषीले पाए।

यो समूहको निर्णायकमा अभिनेता एवं मोडल सागर लम्साल क्षत्री, भिडियो सम्पादक रविन बिक, गायिका सुजता केसी र गायक रुद्र शेखर शर्मा थिए।

यस्तै, यो वर्षको चलचित्र पत्रकार पुरस्कार लेन्स नेपाल का पत्रकार विष्णु प्रसाद सुवेदीले प्राप्त गरे।

संस्कृति मन्त्रीसहित सो समारोहका अतिथिहरू श्रीलङ्काका लागि नेपाली राजदूत डा. पूर्ण नेपाली, राष्ट्रिय सभाका सदस्यद्वय जगप्रसाद शर्मा र सीता बौडेल, अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष कृष्ण मल्ल, रवीन्द्र खड्का, जेआईजेडका प्रोग्राम म्यानेजर डा. बर्नड अल्पटलगायतले अवार्ड विजेता चलचित्रकर्मीलाई विशेष सम्मान गरे।

सम्बन्धित समाचार

सबै