भोलि बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’ ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया नायक राजेश हमालले दिएका छन्।
फिल्मको प्रिमियरमा कमै मात्र पुग्ने हमाल बुधबार आयोजित दिवाकर भट्टराई निर्देशित फिल्मको प्रिमियरमा भने किर्तिपुर सिनेप्लेक्ससम्म पुगेका थिए।
फिल्म हेर्न निकै उत्साहित रहेको बताउँदै हल छिरेका हमालले फिल्म हेरेपछि भने– “यो फिल्ममा हरेक कुरा छ। फिल्मको कथावस्तुले मन छुन्छ। गीत-संगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ। ब्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ। कलाकारहरूले पनि निकै राम्रो काम गरेका छन्। यसैले, ‘मायावी’ ले बजार तताउने कुरामा विश्वस्त छु।”
हमालले अगाडि भने– “मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ। यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन। मान्छेको मन नै त हो नि, जता पनि जान सक्छ भन्ने देखाएको छ। यो लभ स्टोरी फिल्म विशेष छ।”
नायक हमालले यसको प्रस्तुति निकै मन परेको बताए। फिल्मका निर्देशक दिवाकर भट्टराईको अर्को फिल्म ‘नरसिंहाः अवतार’ मा काम गरेका हमालले भने– “मलाई उहाँ कस्तो मेकर हो भन्ने लागेको थियो। तर, यसको मेकिङ निकै राम्रो छ। यसैले, दिवाकरजीलाई बधाई दिन चाहन्छु। फिल्मको सुरुवातदेखि अन्त्यसम्म एउटा गति समातेर अगाडि बढेको छ। यसैले, दर्शकले यो फिल्म मन पराउनुहुन्छ भन्ने लागेको छ।”
फिल्म ‘मायावी’ को प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकारहरू सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत पुगेका थिए। यस्तै, फिल्मका मुख्य कलाकारहरू दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव-नायक समीम खान पनि पुगेका थिए। फिल्मका मुख्य नायक पल शाह भने अर्को एक फिल्मको छायांकनका क्रममा रोल्पा मा रहेकाले उपस्थित हुन सकेनन्।
फिल्म हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए। लभ स्टोरी कथावस्तुमा आधारित यो फिल्म एक मन छुने कथा भएको फिल्मकर्मीहरूको भनाइ छ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त को लगानीमा बनेको यो फिल्मले पोखराको परिवेशलाई केन्द्रमा राखेर कथा भन्छ। फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह-निर्माता छन्। यस्तै, क्रियटिभ सिने आर्ट्स का लागि नेम महर्जन पनि यसका लगानीकर्ता हुन्।
फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको छ।
यसैबीच, यो फिल्मको बुकिङ देशभरका मल्टिप्लेक्सले खुलाएका छन्। सोमबार बेलुकीदेखि नै देशभरका मल्टिप्लेक्समा फिल्मले सुखद शोज पाएको छ। क्यूएफएक्स चेन, वान सिनेमाज, बीग मुभिज, आईएनआई, एफक्यूब लगायतका मल्टिप्लेक्सले फिल्मका शोज खुलाएका छन्।
