
फागुन २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आउटल: दफा २१९’ दर्शकहरूका लागि प्रतिक्षित बनेको छ। टिजर सार्वजनिक भएसँगै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए, भने ट्रेलर पनि केही दिनमै सार्वजनिक हुँदैछ।
यसैबीच, निर्माण पक्षले ‘न्याय’ शीर्षकमा ‘र्याप प्रतियोगिता’ आयोजना गरेको छ। स्याडो पिक्चर्स र रिट्रो फिल्म्सको प्रस्तुति रहेको यस फिल्मको प्रतियोगितामा सहभागी हुन इच्छुकले ‘न्याय’ शीर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन्। प्रतिस्पर्धीले गीत लेखेर रेकर्ड गरी भिडियो निर्माण टिमलाई पठाउनु पर्नेछ।
प्रतियोगितामा पठाइएका भिडियोहरू फिल्मको आधिकारिक सामाजिक सञ्जाल एकाउन्टमा पोस्ट गरिनेछन्। सर्वाधिक लाइक र भ्यूज प्राप्त गर्ने प्रतिस्पर्धीले पुरस्कार जित्नेछन्, निर्माण पक्षले जानकारी दिएको छ। इच्छुकले फागुन २३ गतेसम्म भिडियो तयार पारेर पठाउनुपर्नेछ।
विजेताले उक्त गीतको म्युजिक भिडियो निर्माणका लागि १ लाख नगद प्राप्त गर्नेछन् । गीतले दर्शकको साथ पाएको खण्डमा विजेताले भिडियो पनि निर्माण गर्न सक्ने निर्माणपक्षले बताएको छ ।
फिल्मका निर्माता अमित अग्रहरीका अनुसार, फिल्मले ‘न्याय’को कथा बोल्ने भएकाले यसै शीर्षकमा प्रतियोगिता आयोजना गरिएको हो।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विनोद कठायत कार्यकारी निर्माता तथा विकास चौधरी सह-निर्माताका रूपमा रहेका छन्। फिल्ममा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन, नविन गुरुङको छायांकन रहेको छ।
फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।