युट्यूव ट्रेन्डिङमा ‘होस्टल ३ʼको कब्जा: मुख्य ट्रेन्डिङमा तेस्रो, फिल्म सेक्सनमा अझैं पहिलो

0 Shares

नेपाली चलचित्र होस्टेल ३ को गत शुक्रवार सार्वजनिक भएको ट्रेलरले व्यापक हाइप प्राप्त गरेको छ। रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो। नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा रहन सफल यो ट्रेलर करिब १५ वटा देशमा ट्रेन्डिङमा आएको थियो, जुन अहिलेसम्म पनि कायमै छ।

हाल नेपालका लागि युट्युबको मुख्य ट्रेन्डिङमा होस्टेल ३ को ट्रेलर तेस्रो स्थानमा रहेको छ, जुन आफैंमा ऐतिहासिक मान्न सकिन्छ। ऐतिहासिक यस अर्थमा कि मुख्य ट्रेन्डिङमा रहेका ५० वटा भिडियोहरूमध्ये नेपाली मनोरञ्जनात्मक सामग्री होस्टेल ३ को ट्रेलर मात्र रहेको छ। पहिलो नम्बरमा हालै सम्पन्न नेपाल र म्यानमारबीचको महिला फुटबल खेल रहेको छ भने दोस्रो स्थानमा मिस्टर बिस्टको सर्ट भिडियो रहेको छ।

ट्रेलरले विशेष गरी सबै खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा उल्लेखनीय प्रभाव देखाएको छ। यस चलचित्रले भारतीय चलचित्र उद्योगको विशाल बजारमा समेत ट्रेन्डिङमा प्रवेश गरी अर्को इतिहास कायम गरेको छ। साथै, जापान, अस्ट्रेलिया, रोमानिया, माल्टा, मलेसिया, दक्षिण कोरिया तथा बेलायतजस्ता देशहरूमा पनि ट्रेन्डिङमा परेको छ।

यस तथ्यांकले देखाउँछ कि चलचित्रको ट्रेलरले नेपालसहित नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा उल्लेख्य प्रभाव छोडेको छ। चलचित्रका निर्देशक सशान कँडेलले चलचित्रको प्रचारात्मक सामग्रीलाई दर्शकले मन पराएकोमा खुसी व्यक्त गर्दै भने, “ट्रेलरले प्राप्त गरेको अपार मायाले हामीलाई अत्यन्त हौसला प्रदान गरेको छ। ट्रेलरको हाइपअनुसार चलचित्र अपेक्षा गरेका दर्शकलाई कुनै हालतमा निराश हुन दिने छैनौँ।”

चलचित्रमा प्रमुख भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायत छन्। अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा देखिनेछन्।

चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिकासमेत निभाएका छन्। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन्। कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन्।

चलचित्रको छायाङ्कन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन्। एक्सन निर्देशन हिमाल केसीले सम्हालेका छन्। संगीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन्। नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन्।

चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) ले गर्नेछ भने उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन्।

 

सम्बन्धित समाचार

सबै