लाज शरणम् को अग्रिम बुकिङ उत्साहजनक

0 Shares

चलचित्र लाज शरणम् को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ। सोमबार साँझदेखि हलहरूले अग्रिम बुकिङ खुला गरेपछि उल्लेखनीय रूपमा टिकट बिक्री भएको छ।

कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन्। ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो भरिइसकेका छन्।

काठमाडौंको सिभिल महललगायतका हलमा पनि उल्लेखनीय रूपमा टिकट बिक्री भइरहेको छ। रिलिजको २४ घण्टा अगाडि नै शो हाउसफुल हुनु र अग्रिम बुकिङ उच्च हुनु चलचित्रको राम्रो व्यापार गर्ने संकेत हो।

अग्रिम बुकिङ राम्रो भएकाले मल्टिप्लेक्स हलहरूले शो थप्न थालेका छन्। काठमाडौंमा क्यूएफएक्सले सुरुवातमा २९ शो दिएकोमा अहिले ३१ शो पुर्‍याइसकेको छ।

तुलनात्मक रूपमा जसको अग्रिम बुकिङ राम्रो हुन्छ, त्यसको शो थपिँदै जान्छ, र अन्य चलचित्रका शो घट्ने गर्छन्। लाज शरणम् लाई देशभर करिब २०० शो प्राप्त भएको छ।

लाज शरणम् वर्षकै प्रतिक्षित चलचित्रहरूमध्ये एक हो। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते (भोलि)देखि प्रदर्शनमा आउँदैछ।

लोकप्रिय हास्य टेलिश्रृंखला सक्किगोनि टिमले निर्माण गरेको यो चलचित्रमा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन्। चलचित्रको निर्देशन कुमार कट्टेलले गरेका छन्।

यसमा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको यस सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा रहेका छन्।

सम्बन्धित समाचार

सबै