‘भूठान’ निर्माता अविरलको ‘ठक्कर’ सार्वजनिक, यस्तो देखिए राजवल्लभ

0 Shares

२०८२ वैशाख १२ गते प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ‘ठक्कर’ बोलको गीत युट्युब च्यानल अवेकन प्रोडक्सनमार्फत सार्वजनिक गरेका छन्। गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेको छ भने भिडियोलाई ‘सानो संसार’ चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन्।

‘एक्टर टेक वन’ चलचित्रको प्रदर्शनका क्रममा राजवल्लभ कोइराला नेपाल आएको अवसर पारेर सो म्युजिक भिडियोको छायांकन गरिएको थियो। गायक विनोद, गीतकार अविरल र अभिनेता राजवल्लभ पुराना मित्र हुन्।

समाजमा बढ्दै गएको चरम निराशा, अवसाद, विग्रह, हत्या र आत्महत्यालाई केही हदसम्म निरुत्साहित गर्न तथा आशा र हिम्मतको सञ्चार गरी मानसिक स्वास्थ्य कायम राख्न गीत लेखिएको र निर्माण गरिएको थापाले बताएका छन्। थापाले यसअघि चलचित्र ‘साँघुरो’का लागि ‘आउँदैछु कि जाँदैछु’, शिशिर योगीको स्वरमा ‘आफ्नै देशमा बस साथी’, प्रमोद खरेलको स्वरमा ‘यो झरीमा तिमीसँगै’, युनिटी ब्याण्डको ‘आशा अझै मरेको छैन’ लगायतका गीतहरू बजारमा ल्याइसकेका छन्। उनी बहुचर्चित चलचित्र ‘बुलबुल’का निर्माता पनि हुन्।

समाज र जनमानसको मानसिक स्वास्थ्यप्रति दायित्व बोध गर्दै सुरु गरिएको यस अभियानमा काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयले पनि साथ दिएको छ। गीतकार थापाले सबैलाई प्रेरणा दिने यस गीतलाई आम जनमानसमा पुर्‍याउन र सामाजिक सञ्जालमार्फत प्रवाह गर्न सबै व्यक्ति, संस्था तथा सञ्चार माध्यमलाई प्रकाशन र प्रसारण गरिदिन अपिल गरेका छन्। गीत युट्युब र संसारभरका लोकप्रिय सबै श्रव्य माध्यममा उपलब्ध छ।

 

सम्बन्धित समाचार

सबै