फिल्म ‘माग्ने राजा’ को फ्लोरमा गएको छ।
महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरेको हो। निर्माण टिमका अनुसार, फिल्मले आफ्नो छायाङ्कन काभ्रेको बल्थलीबाट सुरु गरेको छ। सामिप्यराज तिमल्सिनाले फिल्मको कथा लेखेका हुन्।
फिल्मले एउटा गरिब व्यक्तिको धनी बन्ने महत्त्वाकांक्षाको कथालाई केन्द्रमा राखेर कथा भन्छ । सिनेमाका निर्देशक ऋषि लामिछानेले हुन् । मुनाल घिमिरे फिल्मका निर्माता हुन्। फिल्मको छायाङ्कन नरेन्द्र मैनालीले गर्नेछन्। सिनेमा आगामी वर्षको तिजमा रिलिज घोषणा पनि निर्माणपक्षले गरेको छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ। फिल्ममा केदार घिमिरे, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सन विक्रम राई, र शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।
