फिल्म ‘योगमाया’ निर्माण घोषणान वेनिशा हमाल बन्ने भइन शीर्षक पात्र

0 Shares

महाशिवरात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ निर्माण घोषणा गरिएको छ। पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपीठमा एकसाथ पूजा गर्दै फिल्म घोषणा गरिएको हो।

भोजपुरको योगमाया समाधि स्थलमा स्व. पहलमानका छोरा नवराज बस्नेत, योगमाया शक्तिपीठका अध्यक्ष भुपाल बस्नेत, गुरु दामोदर भण्डारी, फिल्मका लेखक तथा टेक्निकल निर्देशक नेत्र छन्त्याल, उदास बैरागी, योगमाया खेलकुद समितिका अध्यक्ष भुपाल कठेत, टिकाराम भण्डारी, विनोद भट्टराई, मधुसुदन भट्टराई, जगन्नाथ अधिकारी, जिवनाथ सुवेदी, निलमणि खनाल, सोमनाथ भण्डारी, कृष्णमाया नेपाल, होड ब. कठेत, विद्याराज न्यौपाने लगायतले स्क्रिप्ट तथा पोस्टर पूजा गरेका थिए, भने काठमाडौँ पशुपतिमा फिल्मका निर्देशक रिमेश अधिकारी, कलाकार शिवशंकर रिजाल, लय संग्रौला लगायतले मन्दिरमा स्क्रिप्ट तथा पोस्टर पूजा गर्दै फिल्म घोषणा गरेका हुन्।

‘योगमाया’ राणा शासनको विरुद्ध आवाज उठाउँदै जल समाधि लिने भोजपुरकी नेपाली महिला योगमाया न्यौपानेको कथामा निर्माण हुन लागेको हो। उनी जुद्ध शमशेर राणाको शासनकालमा समाजका विभेद, कुरीति, असमानता, छुवाछूत, बालविवाह, सतिप्रथा, दासप्रथा लगायतको अन्त्य गर्दै धर्मराज्य स्थापनाका लागि लड्ने एक साहसी महिला थिइन्। ध्यान र योगमार्फत उनका हजारौँ अनुयायी थिए।

जुद्ध शमशेर राणासँग आँखा जुधाएर पटक–पटक आन्दोलन गर्दै आफ्ना माग राखेकी योगमायालाई राणाले वचन दिएर पनि धोका दिएपछि, उनले ६७ जना अनुयायी सहित अरुण नदीमा जल समाधि लिएकी थिइन्। उनको बलिदानपछि ९ वर्षपछि राणा शासनको अन्त्य भएको थियो। योगमायाको संघर्ष र बलिदानको कथा फिल्मले भन्ने निर्माता/निर्देशक रिमेश अधिकारी बताउँछन्। फिल्मका लागि विगत एक वर्षदेखि अनुसन्धान गर्दै विभिन्न पुस्तकहरू अध्ययन तथा जानकार व्यक्तिहरूसँगको छलफलपछि फिल्मको स्क्रिप्ट रिमेश अधिकारी र नेत्र छन्त्यालले तयार पारेका हुन्।

फिल्मका लागि डा. आस ब. तामाङ र पूर्वमन्त्री शंकर कोइरालाको शब्दमा दुई गीत तयार छन्, जसमा विनोद खम्बु र थानेश्वर गौतमले संगीत दिएका छन्। रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने ‘योगमाया’ नवराज बस्नेत, भरत संघौला, ईश्वर कुमार श्रेष्ठ, माधव थापा लगायतको समूहले निर्माण गर्न लागेको हो।

फिल्मको कानुनी सल्लाहकार राधाकृष्ण पाठक, संयोजक समन अधिकारी र सत्यराज घिमिरे रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा हुन्।

फिल्मको पशुपतिमा स्क्रिप्ट पूजा समेत गरिएको छ। कार्यक्रममा निर्माता, निर्देशक रिमेश अधिकारी, न्यौपाने बन्धु समाजका केन्द्रिय अध्यक्ष बलाराम न्यौपाने लगायतको उपस्थिती थियो। फिल्ममा बेनिशा हमाल, लय संग्रौला, रमेश बुढाथोकी, मोहन निरौला, दिनेश डीसी, शिवशंकर रिजाल, विशाल पहारी, मनोज शाक्य, बाल कलाकार पोषण श्रेष्ठ लगायत फाइनल भएका छन्। फिल्ममा अझै लिजेन्ड र थियटर कलाकार छनोटको क्रम जारी रहेको निर्देशक अधिकारीले बताए।

फिल्मको छायांकन नयाँ वर्ष २०८२ मा सुरु हुने छ।

सम्बन्धित समाचार

सबै