आठ अग्रज कविका कवितासँगै सुरु भयो ‘काठमाडौं उत्सव’

0 Shares

साहित्य, संस्कृति र कलाको उत्सव, काठमाडौं उत्सव शुक्रबार आठ जना स्थापित कविहरुका कविता वाचनबाट सुरु भएको छ।

नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने उत्सवको उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वैरागी काइँला, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, तुलसी दिवस, होमनाथ सुवेदी र दिनेश अधिकारीले आफ्ना कविता सुनाएसँगै कार्यक्रमको औपचारिक उद्घाटन भएको हो।

उद्घाटन सत्रमा आफ्नो छोटो मन्तव्य राख्ने क्रममा काठमाडौं उत्सवका सल्लाहकार ओम रिजालले भने, ‘यो महोत्सव कला संस्कृतिका धरोहरहरुसँगै भुइँमान्छेहरुका आवाजसमेत समेट्ने उत्सव हो।’

दुई दिनसम्म चल्ने उत्सवमा जम्मा १५ सत्र हुनेछन्। आयोजक समूह नै युवा भएको महोत्सवमा धेरैभन्दा धेरै युवा पुस्ताको काम, उपस्थिति र सोचलाई प्राथमिकता राखिएको उत्सवका संयोजक बाबु त्रिपाठीले बताए।

नाममै काठमाडौं जोडिएको उत्सवको पहिलो दिनको पहिलो सत्र काठमाडौंकै संस्कृति विशेष हुँदैछ। सत्रमा ‘सम्पदा, संस्कृति र सभ्यता’ शीर्षकमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले काठमाडौँको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षबारे छलफल गर्नेछन्। सत्रको सहजीकरण पत्रकार राजेन्द्र बाँनियाले गर्नेछन्।

उत्सवको पहिलो दिन लेखक ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबीच ‘अक्षरका आयामहरु’ शीर्षकमा अर्को छलफल हुँदैछ। लोकप्रिय गायिका शान्तिश्री परियारको संर्घर्षदेखि लोभलाग्दो सफलतासम्मको अर्को सत्र पनि पहिलो दिनको मुख्य आकर्षण हो। शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा छलफल गर्नेछिन्।

ज्ञान विवेक र विज्ञान’ विषयमा हुने अर्को सत्र लेखक विमल आचार्यले सञ्चालन गर्नेछन्। विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीसँग ‘सानो संसार, ठूलो संसार’ शीर्षकमा भलाकुसारी गर्नेछिन्।

अर्को सत्रमा राजेन्द्र सापकोटा, जिस्वन तुलाधर श्रेष्ठ र लक्ष्मण गौतमबीच पर्यटनमा पहल शीर्षकमा छलफल हुँदैछ। सत्र सहजीकरण पत्रकार विराट अनुपमले गर्नेछन्।

उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको छ। दशकौंदेखि मकै र चिया बेचेर लामो अनुभव सँगाले दुई वक्ताहरुको अनुभव समेटिको भुइँका कुरा शीर्षकको सत्र लेखक विना थिङले सञ्चालन गर्नेछिन्।

संवाद र कविता गजल प्रस्तुतिबाहेक महोत्सवमा काठमाडौँको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिएका छन्।

सम्बन्धित समाचार

सबै