कंगना रनौत-जावेद अख्तरको कानुनी विवाद यसरी टुंगियो, यस्तो छ विवाद श्रृंखला

0 Shares

बलिउड अभिनेत्री कंगना रनौत र पटकथा लेखक जावेद अख्तरबीचको कानुनी विवाद अन्ततः मिलापत्रमा टुंगिएको छ।

अभिनेत्री रनौतले सामाजिक सञ्जालमा अख्तरसँगको तस्वीर साझा गर्दै कानुनी विवाद समाधान भएको जानकारी गराएकी छन्।

शुक्रबार, उनीहरू मुम्बईको वान्द्रास्थित मजिस्ट्रेट अदालतमा उपस्थित भए र पाँच वर्षदेखि चलिरहेको विवादलाई अन्त्य गरे।
कंगनाले पोस्टमा लेखेकी छन्, “आज, जावेद जी र मैले हाम्रो कानुनी विवाद (मानहानी मुद्दा) मध्यस्थताको माध्यमबाट समाधान गरेका छौं। मध्यस्थतामा जावेद जी निकै दयालु र उदार रहनुभएको छ। उहाँले मेरो आगामी निर्देशनको लागि गीत लेख्न पनि सहमति जनाउनुभएको छ।”

पाँच वर्षको कानुनी प्रक्रियापछि, सांसदसमेत रहेकी कंगना रनौत र गीतकार जावेद अख्तरबीच अन्ततः सहमति भएको हो।

शुक्रबार बिहान १०:३० बजे, दुबै पक्षका वकिल जय के भारद्वाज र रिजवान सिद्दीकीसँगै वान्द्रा मजिस्ट्रेट अदालत पुगेका थिए। करिब एक घण्टा लामो छलफलपछि वकिलहरूले अदालतमा उनीहरूको बयान दर्ता गराए।

बयानअनुसार, जावेद अख्तर र कंगना रनौतले एकअर्काविरुद्ध दायर गरेका मानहानीका मुद्दा फिर्ता लिन सहमति जनाएका छन्।

अदालतबाट बाहिरिएपछि जावेद अख्तरले संचारमाध्यमसँग भने, “यी वर्षहरूपछि अन्ततः मुद्दा मिलेको छ। उनले मलाई भएको असुविधाको लागि माफी मागेकी छन्। अब म मेरो मुद्दा फिर्ता लिन्छु, उनले पनि आफ्नो मुद्दा फिर्ता लिनेछिन्।”

पछिल्लो पाँच वर्षमा अख्तरले कंगनाविरुद्धको मुद्दाको लगभग सबै सुनुवाइमा निरन्तर उपस्थिति जनाएका थिए। उनी साक्षी बक्समा उभिएर बयान दिनसमेत तयार भएका थिए, जुन प्रक्रिया रनौतले पनि पूरा गरेकी थिइन्।

हास्यपूर्ण शैलीमा, जब अख्तरलाई मिलापत्रपछि सान्ति महसुस भएको छ कि भनेर सोधियो, उनले मुस्कुराउँदै भने, “अब म अर्को समस्या खोज्छु।”

विवादको पृष्ठभूमि

कंगना रनौत र जावेद अख्तरबीचको कानुनी विवाद मार्च २०१६ को एक घटनासँग सम्बन्धित छ।

त्यस समय कंगना रनौत र अभिनेता ऋतिक रोशनबीच इमेल आदानप्रदानको आरोपमा सार्वजनिक विवाद भइरहेको थियो। रोशन परिवारसँग निकट रहेको भनिएका जावेद अख्तरले रनौतलाई आफ्नो निवासमा बोलाएर ऋतिक रोशनसँग माफी माग्न सुझाव दिएको आरोप लगाइन्छ।

रनौतले तत्काल कुनै प्रतिक्रिया दिइनन्। तर, २०२० मा अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि कंगनाले एक टेलिभिजन अन्तर्वार्तामा २०१६ को भेटघाटबारे चर्चा गरिन्।

अन्तर्वार्तामा दिएका अभिव्यक्तिहरूलाई जावेद अख्तरले अपमानजनक भन्दै कंगनाविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए।

यसपछि, कंगनाले पनि जावेद अख्तरविरुद्ध प्रतिवाद दर्ता गराउँदै उनले आफूमाथि माफी माग्न दबाब दिएको आरोप लगाएकी थिइन्।

तर, अख्तरविरुद्धको उक्त मुद्दा हाल डिण्डोशी सेशन्स कोर्टले स्थगित गरेको छ।

कंगनाले पछिल्ला बयानहरूमा भनेकी छन् कि अख्तरविरुद्ध दिएको अन्तर्वार्ता गलत बुझाइको कारण भएको थियो।

सम्बन्धित समाचार

सबै