व्यावसायिक रूपमा सफल भइरहेको चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ। निर्माण टिमले प्रदर्शनको तेस्रो दिनमा सार्वजनिक गरेको यस गीतमा सुरज पण्डितको स्वर रहेको छ।
कुमार कट्टेलको निर्देशन रहेको यस गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ। गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएका छन् भने कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ। भिडियोले एक दम्पतीको दुःख, संघर्ष र सम्बन्धको गहिराइलाई भावुक रूपमा प्रस्तुत गरेको छ।
गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल, इमानदार र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न सकिन्छ। चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड यस गीतले फिल्मको मुख्य कथावस्तु झल्काएको छ।
‘च्यातिएको चोली’ गीतमार्फत दर्शकलाई कर्णालीको परिवेश र पात्रहरूसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ। यस गीतले मुख्य पात्रहरूबीचको प्रेमकथा, उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ।
चलचित्र हेर्ने दर्शकका लागि महेश त्रिपाठी र रेणु योगीको अभिनय विशेष आकर्षण बनेको छ। कर्णालीको प्राकृतिक सौन्दर्य, पात्रहरूको गहिरो अभिनय तथा कथाको गहिराइले दर्शकको मन जित्न सफल देखिन्छ।
लोकप्रिय हास्य टेलिशृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ। साथै, प्रियना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूले पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका निभाएका छन्।
‘जेपिटी क्रियसन’ को ब्यानरमा निर्माण गरिएको यस चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा रहेका छन्।
‘लाज शरणम्’ ले प्रदर्शनको पहिलो दिन नै १ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। वितरकहरूका अनुसार, चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ र यसको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ।