‘वसन्त’ सिनेमाको नयाँ गीत ‘बिना स्वादैको’ सार्वजनिक

0 Shares

गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशन ‘वसन्त’ सिनेमाले आफ्नो नयाँ गीत ‘बिना स्वादैको’ सार्वजनिक गरेको छ ।

गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ ।

सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारीलाई देख्न सकिन्छ ।

यो सिनेमा आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुँदैछ ।

सिनेमामा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् ।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।

 

सम्बन्धित समाचार

सबै