
त्यसबेला म स्वास्थ्य र शिक्षासम्बन्धी नाटक देखाउन गाउँतिर जान्थें। त्योबेला प्रकाश जिसी दाइसँग सूर्यचौरमा भेट भयो। उहाँले मसँग गाउनुभयो। दोहोरी साँझमा गायौं भने तिमी कलाकारका रुपमा धेरै अगाडि बढ्न सक्छौ भन्नुभयो। मैले आमालाई यो कुरा सुनाए तर उहाँले मान्नुभएन। त्यो बेला एक दुई महिनाका लागि भए पनि जानुपर्छ भनेर मैले विद्रोह गरे। १५ वर्षको उमेरमा आमाले नाइ भन्दाभन्दै पनि मैले काठमाडौं जाने निर्णय गरेँ।
अझै याद छ, त्यो असार १० गतेको रात थियो। म नाइट बस चढेर काठमाडौं हिँडेकी थिएँ। नाइट बसमा २४ घण्टामा चार पाँच घण्टामात्रै निदाएँ हुँला। म खासै धर्म मान्दिनँ थिएँ। तरत्यसदिन भगवान शिवलाई हरेक श्वासमा सम्झेँ। हुन पनि कोही नहुनेको भगवान हुँदोरहेछन्। किनकी म पढेलेखेको पनि थिइनँ। उमेरले समेत अपरिपक्क थिएँ।
काठमाडौंमा पाइला टेक्दा कहाँ टेकेजस्तो लागेको थियो। तर, मैले सही ठाउँमा टेकेको रहेछु। पुरुष खराब भनिने यो समाजमा मैले पूजा गर्ने पुरुषहरु हुनुहुन्छ। जसमध्ये मेरो बुवापछिको दाइ प्रकाश जिसी दाइ हुनुहुन्छ। पृथ्वी थकाली दाइलाई पनि म त्यति नै मान्छु। अरु पनि कलाकार हुनुहुन्छ। यो समाजमा पूजा गर्न मिल्ने पुरुष पनि हुनुहुन्छ। अर्का पुरूष, मेरो श्रीमानबिना यो सफलता सम्भव हुँदैन्थ्यो। आजसम्म उहाँ मसँगै उभिनुभएको छ।
प्रकाश जिसी दाइले मेरो कलालाई देखेर ल्याउनुभएको थियो। काठमाडौं आइपुगेकै दिन उहाँले विभिन्न दोहोरी साँझमा लानुभयो। सुरुमा धौलागिरी दोहोरी साँझमा गएँ। केटीहरु चिटिक्क परेर नाँचेको देखेँ। कपाल स्ट्रेट गरेको देख्दा खुब रमाइलो लागेको थियो। तीनरचार ठाउँमा जाँदा पनि म सेलेक्ट हुन सकिनँ।
भोलिपल्ट अरु दाहोरी चहारेँ। त्रिवेणी त्रिशूली दोहोरी साँझमा पहिलो पटक काम गर्ने अवसर पाएँ। त्यहाँका कलाकारसँग गीत गाउने ट्युनिंग मिलिसकेको थियो, तर त्यहाँ धेरै ग्राहक आउँथेनन्। नचलेको दोहोरी रहेछ जहाँ १६ दिन काम गरे।
१७ औं दिनमा रोल्पाकै अनिता खड्का दिदीले बागबजारको रमाइलो चौतारीमा मेरो सट्टा तिमी आऊ भन्नुभयो। साहुजी मेरो स्वर मन पराएपछि त्यहाँ काम सुरु गरेँ।
चलेको दोहोरी साँझमा खचाखच मान्छे हुँदारहेछन्। मलाई काम गर्न रमाइलो लाग्यो। त्यहाँ याम श्रेष्ठ सरसँग भेट भयो। जो मलाई छोरीजस्तै मान्नुहुन्छ। र, म बाबाजस्तै मान्छु अहिले पनि।
गाइसकेपछि उहाँले बोलाएर परिचय सोध्नुभयो। मैले नि केही चलाखी गरेँ। अर्कोमा ४ हजार दिएको छ भनेर गफ लाएँ। पुरानाको ३२ र ३५ सय पाउने रहेछन्, मैले पहिलो महिनामै चार हजार तलब पाएँ।
सुरुमा प्रकाश खड्का दाइले डेरा खोजिदिनुभयो। त्यसपछि म गीता खड्कासँग बसे। तर, एकमहिनापछि अल्लगै बसेँ। कोठा सर्दा अनिता खड्का दिदीले साथ दिनुभएको थियो। उहाँले बेडदखि भाँडा र सिरक दिनुभएको थियो। सामाखुसीको टाउन प्लानिङमा १२ सयको रुममा बसेँ। त्यहाँबाट संघर्ष सुरु भयो। गरिब घरको छोरी भए पनि भात पकाउन अल्छि गरेको रहेछु। खाना पकाउँदा रुन्थेँ।
जागिर पाएपछि गीत रेकर्ड पालो आयो। पहिलो गीत शम्भु थापा चर्चितको ‘अरुभन्दा फरक म किन’ बोलको गीत गाएकी थिएँ। दोस्रो गीत ‘घर छ तीनतले’। शिव हमालको शब्द र संगीतमा ‘एकतर्फी मायाले कति पीडा दिन्छ’ गीतलपछि भने करिअर अलि सजिलो भयो। यसमा मेरोसहित कुलेन्द्र विश्वकर्माको स्वर थियो।
सुरुवातीमा संगीतमा साधना भनेको दोहोरी साँझमै भयो। चारवर्ष बितिसकेपछि मैले बल्ल संगीत सिके। चन्दन श्रेष्ठ गुरुकहाँ गएर ७ हजार तिरेर भर्ना भएँ। चार वर्ष शास्त्रीय संगीत सिकेँ। त्यसपछि व्यस्तता बढ्दै गयो।
जन्मथलो छोडेर काठमाडौं आउनु मेरो संघर्षको अर्को चरण थियो। तर आमाबाबुबाट धेरै बसेर संघर्ष गर्दा पनि मेरो शिर र मुटुमा सधैं आमा बुवा र उहाँको आशीर्वाद रहिरह्यो। सबैतिर आमाबुवालाई राखेर हिँडियो भने कहिले पनि हारिँदैन।
मेरा गीतहरु चल्न थालेपछि मैले आमा बुवालाई घर किन्दिने सपना देखेँ। मेरो आमाबुवाको जिन्दगीको २७ २८ वर्ष भाँडाको घर सर्दै बित्यो। कहिले कता, कहिले कता सर्दा मलाई निकै दुःख लाग्थ्यो र सधैं हाम्रो स्थायी घर कहिले हुन्छ होला भनेर सोचिबस्थेँ।
तर, २०७४ सालतिर म ठूलै दुर्घटनामा परेँ। ढाड भाँचिएकाले उठ्न नसक्ने भएँ र अब बाँच्दिन भन्नेसम्म लाग्न थाल्यो। जसरी भए पनि पैसा कमाएर छानो हाल्नुथियो। एक महिना आराम गरेर फेरि काम गर्न थालेँ। जब मैले बुवाआमाका लागि घर किन्दिएँ मलाई त्यो घरलाई महल भन्न थालेँ। आमालाई म के छ आमा तिम्रो महलको खबर भनेर जिस्काउँथें। आमाले तिम्रो महल हाँसिरहेको छ भन्नुहुन्थ्यो। अनि म हाँस्थें।
मैले हालसम्म लगभग तीन हजार गीत गाइसकेकी छु। अस्तिसम्म म हलचल नभएर कतै नठोइकिकन सललल बग्ने नदी झैं ठान्थेँ। तर, बग्दै जाने क्रममा ठोकिइदोरहेछ। हिँडदै जाने क्रममा बहकिइदोरहेछ। अरुको कारणले म मज्जाले ठोकिएकी छु। लडेकी छु, बजारिएको छु र रोएकी पनि छु। तै पनि सम्हालिँदै हिँड्ने, भिड्ने र बग्ने क्रम जारी छ।
(बोल माया, गलबन्दी, रुकुम मैकोट, घुमी घुमी, घर कता हो बैनीको, अरेली काँडैलेजस्ता दर्जनौं लोकप्रिय गीतकी गायिका शान्तिश्री परियारले काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजना भइरहेको काठमाडौं उत्सवमा कवि दीप दर्पणसँग साधना र संघर्ष शीर्षकमा गरेको संवादको सम्पादित अशं)