‘अञ्जिला’को ट्रेलर ट्रेन्डिङमा,यस्तो पाइरहेको छ प्रतिक्रिया

0 Shares

काठमाडौं – यही फागुन २९ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘अञ्जिला’ को शुक्रबार सार्वजनिक गरिएको ट्रेलर युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनमा दोस्रो स्थानमा पुगेको छ। यो समाचार तयार पार्दासम्म करिब ८ लाख भ्युज पुगेको ट्रेलरले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रको संघर्ष र कप्तान बन्दा सम्मको कथा प्रस्तुत गरिएको छ। दर्शकहरूले आफ्नै जीवनकथामा आधारित यस चलचित्रमा अभिनेत्रीको रूपमा एन्जिलाले गरेको अभिनयको प्रशंसा गरेका छन्।

युट्युबमा ट्रेलर हेरेपछि धेरै दर्शकहरू भावुक बनेको प्रतिक्रिया जनाएका छन्। चलचित्रले नेपाली चेलीहरूको संघर्षलाई प्रतिनिधित्व गर्ने र खेलाडीहरू मात्र नभई त्यस्तै चुनौती सामना गरिरहेका धेरै नेपाली चेलीहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ। देशको नाम राख्न योगदान पुर्याउने खेलाडीको कथामा बनेको चलचित्र सबैले हेर्नु पर्ने भन्दै दर्शकले चलचित्रलाई सफल बनाउन आह्वान गरेका छन्।

चलचित्रका निर्देशक मिलन चाम्सले ‘अञ्जिला’ को ट्रेलरलाई दर्शकबाट प्राप्त माया र प्रतिक्रियाप्रति आभार व्यक्त गरेका छन्। युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पुगेकोमा खुसी व्यक्त गर्दै, चलचित्रलाई पनि त्यही रूपमा माया गर्न दर्शकहरूलाई आग्रह गरेका छन्। उनले विशेष गरी खेल प्रेमी र खेलाडीहरूलाई चलचित्र हेर्न अनुरोध गरेका छन्।

“यो चलचित्र खेलाडीको कथामा आधारित छ। अन्य दर्शकहरूले त हेर्नुहुन्छ नै, तर म विशेष गरी खेल प्रेमी र खेलाडीहरूलाई आग्रह गर्न चाहन्छु। यदि हामीले यो चलचित्रलाई सफल बनाउन सक्यौं भने, भविष्यमा खेलसम्बन्धी चलचित्रहरू बनाउन नेपाली निर्माताहरूले थप लगानी गर्नेछन्,” चाम्सले भने।

चलचित्रमा एन्जिलासँगै प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङ को पनि अभिनय रहेको छ। चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौं मा गरिएको हो। छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल, र राजेश बगडिया सह-निर्माता रहेका छन्।

 

सम्बन्धित समाचार

सबै