सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन्।
आईतबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ। चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ।
हिन्दी र नेपाली भाषामा विश्वभर रिलिज हुने यस चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई संकेत गरेको देखिन्छ।
चलचित्रको कथावस्तु पैसाको प्रलोभनमा फस्ने र त्यसबाट उम्किन संघर्ष गर्ने पात्रको कथा हुने अनुमान गर्न सकिन्छ। यसले दर्शकमाझ चलचित्रप्रति उत्सुकता थप्ने निश्चित छ।
सेभेन सिज सिनेमा को प्रस्तुति रहने ‘अभिमन्यु’ लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् भने मुकेश खनालले कथा लेखेका छन्। चलचित्रका क्रिएटिभ निर्देशक मदन थापा रहेका छन्।
चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह-निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्।
तर, निर्माण पक्षले कलाकार र कथावस्तु बारे विस्तृत जानकारी खुलाएको छैन।
निर्माता पौडेल फरक धारका सिनेमा बनाउन रुचाउने भएकाले, ‘अभिमन्यु’ मा स्टार कलाकार रहनेछन् वा नयाँ अनुहारलाई अवसर दिइनेछ भन्ने स्पष्ट छैन। तर, उनी नयाँ निर्देशक र अन्डरग्राउन्ड कलाकारलाई अवसर दिने निर्माता भएकाले स्टार कलाकार अनुबन्ध हुने सम्भावना न्यून देखिन्छ।
पौडेलको धारणा अनुसार, नयाँ वा कमचिनिएका अनुहारमार्फत नयाँ कथा प्रस्तुत गर्दा दर्शकलाई कथामा विश्वास गराउन सहज हुन्छ, त्यसैले कलाकार छनोट पनि सोही आधारमा हुने सम्भावना छ।