‘वरिष्ठ बलराम’को शुभ मुहूर्त, छायांकन सुरु

0 Shares

चलचित्र ‘वरिष्ठ बलराम’ को शुभ मुहूर्त गरिएको छ। बुधबार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो।

निर्माण पक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरेको छ। लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन्।

दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई को मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारको पनि अभिनय रहनेछ।

‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय सिनेमा हो। आशिस एच तामाङ र श्रीराज कार्की निर्माता रहेका छन्।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रमा महेश दवाडीको लेखन रहने छ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिनेछ। सिनेमाका डीओपी मानकृष्ण महर्जन रहेका छन्।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ।

‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा हुनेछ। चलचित्र सामाजिक कथावस्तु पस्किने, सन्देशमूलक र मनोरञ्जन प्रदान गर्ने निर्माण पक्षले जनाएको छ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्ने भएका छन्।

सम्बन्धित समाचार

सबै