‘जनै हराएको बाहुन’ चलचित्रले रिलिज मिति घोषणा गरेको छ।
घोषणा अनुसार सिनेमा आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ।
यो चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन्। आमा र छोराबीचको इमोसनल कथा यो चलचित्रमा छ।
चलचित्रको मुख्य थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याइएको मोशन पोस्टरले धेरैको ध्यान खिचेको थियो। यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। उनको यो डेब्यु निर्देशन हो। यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्। जो मुख्य भूमिकामा पनि छन्।
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ।
चलचित्रमा नवीन गुरुङ छायाँकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफएक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहेका छन्।
२०८२ सालको हरितालिका तीजमा दर्शकमाझ आउने यो चलचित्र यस वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ।