साहित्यकार इन्द्रबहादुर राई कथाकृत सिनेमा ‘जार’को पहिलो गीत ‘ए ठूली’ यस्तो बन्यो

0 Shares

साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा ‘जार’को पहिलो गीत सार्वजनिक भएको छ।

आगामी वैशाख २६ (मे ९) मा प्रदर्शन हुने घोषणा गरेको निर्माण कम्पनी फेरी टेल पिक्चर्सले आइतबार ‘ए ठूली’ बोलको गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा फिचर्ड छन्। गीतमा समावेश संगीत, शब्द, र दृश्यले सयौं वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छन्। सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई सिनेमाले उजागर गर्नेछ। गीतले तत्कालीन समाजको परिवेशलाई जीवन्त रूपमा चित्रण गरेको छ।

गीतमा झुमा लिम्बु र पवन गिरीको स्वर रहेको छ भने हर्क साउदको शब्दमा संगीत एरेन्ज गंगा थापाले गरेका छन्। गीतको मिक्सिङ र मास्टरिङ विश्व शाहीले गरेका छन्।

सिनेमा ‘जार’को शीर्ष भूमिकामा सौगात मल्ल, अनुपविक्रम शाही, र भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन्।

फूर्वा छिरिङ लामाको निर्देशनमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ। अधिकांश कलाकार तथा सम्पूर्ण प्राविधिक टिम भारतबाट संलग्न छन्। होप रिल्स, एलए सेभेन स्टार्स, बराल स्टुडियो, र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री, र पेमा रिन्जिङ लेप्चा छन्।

नेपालभित्र यो सिनेमा प्रदर्शनको लागि एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट, र एफडी कम्पनीसँग सम्झौता गरिएको छ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ। सिनेमाको छायांकन सरवानन इलावार्सुले गरेका हुन् भने सम्पादन अखिलेश राईले गरेका छन्।

 

सम्बन्धित समाचार

सबै